काठमाण्डौ । काठमाडौं उपत्यकामा २० लाखभन्दा बढी सवारीसाधन सञ्चालनमा रहे पनि ट्राफिक व्यवस्थापनका लागि पर्याप्त स्रोतसाधन र प्रविधि अभाव हुँदा ट्राफिक प्रहरीले अझै हातको इशारा र सिठ्ठीका भरमा काम गर्नुपर्ने अवस्था रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेशप्रसाद काफ्लेले बताएका छन्।
नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘हिजो, आज र भोलि’ कार्यक्रममा बोल्दै काफ्लेले बढ्दो सवारी चापसँगै ट्राफिक व्यवस्थापन थप चुनौतीपूर्ण बन्दै गएको बताए।
उनका अनुसार उपत्यकामा सवारीसाधनको संख्या बढे पनि त्यसअनुसार जनशक्ति, स्रोतसाधन र कानुनी अधिकार पर्याप्त छैन। ट्राफिक प्रहरीको मुख्य उद्देश्य जरिवाना उठाउनु नभई सडक दुर्घटना न्यूनीकरण र नागरिकको सुरक्षा गर्नु रहेको उनले स्पष्ट पारे।
काफ्लेले नेपालमा दैनिक औसत ७ जनाको सडक दुर्घटनामा मृत्यु हुने र ५० भन्दा बढी मानिस अंगभंग हुने गरेको तथ्यांक प्रस्तुत गर्दै सडक अनुशासन पालना गर्न सबैलाई आग्रह गरे।
उनले तीव्र गति, लेन अनुशासनको उल्लंघन तथा मादक पदार्थ र लागूऔषध सेवन गरी सवारी चलाउनु दुर्घटनाका प्रमुख जोखिम रहेको बताए। चालक, यात्रु र पैदलयात्रुसहित सबै सडक प्रयोगकर्ताले नियम पालना गरे दुर्घटना उल्लेख्य रूपमा घटाउन सकिने उनको भनाइ छ।
जेब्रा क्रसिङमा हुने दुर्घटनातर्फ पनि ध्यान दिनुपर्ने भन्दै काफ्लेले करिब ५ देखि ७ प्रतिशत दुर्घटना जेब्रा क्रसिङसँग सम्बन्धित रहेको बताए।
उनका अनुसार उपत्यकामा ट्राफिक व्यवस्थापनकै क्रममा पछिल्लो एक वर्षमा १९ जना ट्राफिक प्रहरीले समेत ज्यान गुमाएका छन्। सडक सुरक्षाका लागि खटिने ट्राफिक प्रहरी स्वयं जोखिममा रहेको भन्दै उनले प्रभावकारी ट्राफिक व्यवस्थापनका लागि दीर्घकालीन नीति र पर्याप्त स्रोतसाधन आवश्यक रहेको बताए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।