काठमाण्डौ । वाणिज्य बैंकहरुको मुनाफामा उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्ष २०८२–८३ को अन्त्यसम्म २० वाणिज्य बैंकले समग्रमा ६८ अर्ब ७८ करोड ७१ लाख रुपैयाँ नाफा कमाएका छन् ।
यो नाफा अघिल्लो आर्थिक वर्ष २०८१–८२ को तुलनामा ३६.४६ प्रतिशत बढी हो । अघिल्लो आवमा वाणिज्य बैंकहरुले ५० अर्ब ४० करोड ७६ लाख रुपैयाँ नाफा कमाएका थिए ।
ऋण असुलीमा आएको सुधार र कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम घटेपछि अधिकांश वाणिज्य बैंकको नाफामा वृद्धि भएको छ । कर्जा असुली बढेसँगै ब्याज आम्दानीमा सुधार आउँदा बैंकहरूको समग्र वित्तीय प्रदर्शन सकारात्मक बनेको हो ।
पछिल्लो समय विशेषगरी साना तथा खुद्रा कर्जाको असुलीमा सुधार देखिएका कारण बैंकहरुको खराब कर्जा अवस्था सुधारिदै गई ब्याज आम्दानीमा समेत सुधारको संकेत देखिएको हो ।
वित्तीय विवरणअनुसार प्रभु बैंकबाहेक सबै बैंक नाफामा उक्लिएका छन । तीमध्ये पनि स्ट्याण्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र कृषि विकास बैंकको नाफा अघिल्लो आवको तुलनामा घटेको छ भने बाँकी सबै बैंकको उल्लेख्य बढेको छ ।
नाफा वृद्धिदरका आधारमा हिमालयन बैंक र कुमारी बैंक सबैभन्दा अगाडि देखिएको छ । हिमालय बैंकको नाफा १०४१.१६ प्रतिशत र कुमारी बैंकको नाफा ३०७.७३ प्रतिशतले बढेको छ । यता सिद्धार्थ बैंकको नाफा वृद्धिदरमा सबैभन्दा कम ४.४६ प्रतिशत रहेको छ ।
कुल नाफाका आधारमा भने नबिल बैंक शीर्ष स्थानमा छ । बैंकले गत आर्थिक वर्षमा ७ अर्ब ९० करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३३.५० प्रतिशत बढी हो ।
बैंकहरूको नाफा सुधार हुनुमा कर्जा असुलीमा आएको प्रगति प्रमुख कारण देखिएको छ । आर्थिक गतिविधिमा आएको सुस्तताका कारण विगतमा कर्जाको गुणस्तर कमजोर हुँदा बैंकहरूले ठूलो रकम कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपरेको थियो । अहिले असुली प्रक्रिया प्रभावकारी बन्दै गएपछि यस्तो व्यवस्थापनमा लाग्ने रकमको दबाब घटेको छ ।
कर्जा नोक्सानी व्यवस्थापनमा कमी आउँदा बैंकहरूको सञ्चालन नाफा र अन्ततः खुद नाफामा सकारात्मक प्रभाव परेको हो । साथै, ब्याज आम्दानीमा भएको सुधारले पनि बैंकहरूको वित्तीय सूचकलाई बलियो बनाउन सहयोग गरेको छ ।
ब्याज आम्दानीमा सामान्य सुधार
गत आर्थिक वर्ष २०८२–८३ मा वाणिज्य बैंकहरुले १ खर्ब ८८ अर्ब ३५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् ।
यो आम्दानी अघिल्लो आवको तुलनामा ०.७३ प्रतिशत मात्रै बढी हो । अघिल्लो आवमा बैंकहरुको यस्तो आम्दानी १ खर्ब ८६ अर्ब ९८ करोड रुपैयाँ थियो ।
सो अवधिसम्म आधा जस्तो बैंकको ब्याज आम्दानीमा सुधार देखिएको छ भने आधा बैंकको ब्याज आम्दानी अघिल्लो आवको तुलानामा घटेको छ । बैंकहरुको ब्याज आम्दानीमा सुधार नदेखिएपनि कमिसन आम्दानी बढ्नु र प्रोभिजनिङ रकम घट्दा नाफा वृद्धिमा टेवा पुगेको हो ।
सबैभन्दा बढी ब्याज आम्दानी गर्ने बैंकमा नबिल बैंक नै शीर्ष स्थानमा छ । बैंकले गत आवको चौथो त्रैमाससम्म १७ अर्ब ९२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।
एनपीएलमा देखिएन सुधार
बैंकहरुको नाफा र आम्दानीमा सुधार देखिएपनि खराब कर्जा अनुपात (एनपीएल)मा अपेक्षित सुधार देखिएको छैन ।
गत आर्थिक वर्षमा ६ बैंकको मात्रै एनपीएलको अवस्था सुधारिएको छ भने बाँकी सबैको बढेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको एनपीएलको अवस्था ५ प्रतिशत वा सो भन्दा बढी भएमा उक्त संस्थाको वित्तीय अवस्था जोखिम हुँदै जाने देखिन्छ ।
गत आवको अन्त्यसम्म ८ वाणिज्य बैंकको एनपीएल ५ प्रतिशत वा सो भन्दा बढी छ । सबैभन्दा बढी प्रभु बैंकको १५.४४ प्रतिशत पुगेको छ ।
अघिल्लो आवको तुलनामा गत आवमा एनपीएलको अवस्था सुधार्ने बैंकहरुमा हिमालयन बैंक, लक्ष्मी सनराईज बैंक, नबिल बैंक, नेपाल बैंक, नेपाल एसबीआई बैंक र सानिमा बैंक रहेका छन् ।
४ बैंक लाभांश दिन नसक्ने अवस्थामा
गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार ४ वाणिज्य बैंकको तिवरणयोग्य मुनाफा ऋणात्मक रहेको छ । यसर्थमा उक्त बैंकहरु लाभांश बाँड्न नसक्ने अवस्थामा छन् ।
प्रभु बैंक, एनआइसी एशिया बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र हिमालयन बैंकको लाभांश क्षमता ऋणात्मक देखिएको छ ।
यसबाहेक सबै बैंकको लाभांश क्षमता धनात्मक छ । सबैभन्दा धेरै लाभांश क्षमता एभरेष्ट बैंकको ३८.३२ प्रतिशत छ भने सबैभन्दा थोरै लक्ष्मी सनराईज बैंकको जम्मा १.९३ प्रतिशत छ ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।