काठमाण्डौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। प्रदेश सभा सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची छ।
बैठकको प्रारम्भमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र सभामुखले प्रदेश सभा बैठकमा पढेर सुनाउनेछन्। त्यसपछि मुख्यमन्त्री आचार्यले वक्तव्यसहित आफूलाई प्रदेश सभाको विश्वास रहेको प्रस्ताव प्रस्तुत गर्नेछन् ।
प्रस्तावमाथि प्रदेश सभा सदस्यहरूले छलफल गरेपछि उठेका प्रश्न तथा जिज्ञासाको मुख्यमन्त्री आचार्यले जवाफ दिनेछन्। त्यसपछि सभामुखले विश्वासको मतसम्बन्धी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले पुनः विश्वासको मत लिन लाग्नुभएको हो।
लुम्बिनी प्रदेश सभामा कुल ८३ सदस्य छन्। सरकार टिकाउन कम्तीमा ४२ सदस्यको समर्थन आवश्यक पर्छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।