काठमाडौँ। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नवौँ वार्षिकोत्सवका अवसरमा नवजात शिशुको जीवनरक्षासँग जोडिएको ‘न्यानो नानी’ अभियान सुरु गरेको छ।
कम्पनीले राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गर्दै केन्द्रले स्वदेशमै अनुसन्धान तथा उत्पादन गरेको ‘न्यानो नानी’ बेबी वार्मर दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा वितरण गर्ने भएको हो। यससम्बन्धी समझदारीपत्रमा दुवै संस्थाबीच हस्ताक्षर भएको कम्पनीले जनाएको छ।
सम्झौताअनुसार आईएमई लाइफको आर्थिक सहयोगमा पहिलो चरणमा सुदूरपश्चिम र कर्णाली प्रदेशका स्वास्थ्य संस्थालाई १० थान ‘न्यानो नानी’ उपकरण हस्तान्तरण गरिनेछ। सम्बन्धित स्थानीय स्वास्थ्य संस्था तथा आवश्यकताका आधारमा उपयुक्त स्थान छनोट गरी उपकरण जडान गरिने कम्पनीको भनाइ छ।
‘न्यानो नानी’ समय नपुगी जन्मिएका तथा कम तौल भएका नवजात शिशुलाई आवश्यक तापक्रम प्रदान गरी उनीहरूको जीवन जोगाउन प्रयोग गरिने चिकित्सा उपकरण हो। भौगोलिक विकटता, सीमित स्वास्थ्य पूर्वाधार तथा न्यून पहुँच भएका क्षेत्रमा यो उपकरण प्रभावकारी हुने अपेक्षा गरिएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्काले राष्ट्रिय आविष्कार केन्द्रसँगको सम्झौताले दीर्घकालीन सहकार्यको आधार तयार गर्नुका साथै नवजात शिशु स्वास्थ्यमा प्रविधिमैत्री समाधान पुर्याउने कम्पनीको प्रतिबद्धतालाई थप संस्थागत बनाएको बताए।
उनका अनुसार कर्णाली र सुदूरपश्चिमका दुर्गम क्षेत्रमा उपकरण जडान भएपछि नवजात शिशुको मृत्युदर घटाउन तथा आमा–शिशु स्वास्थ्य सेवामा सुधार ल्याउन सहयोग पुग्नेछ। कम्पनीले आगामी दिनमा ‘न्यानो नानी’ कार्यक्रमलाई अन्य प्रदेश तथा जिल्लामा पनि क्रमशः विस्तार गर्ने योजना बनाएको छ।
यसैबीच, भदौ १ गते स्थापनाको नौ वर्ष पूरा गरेको अवसरमा आईएमई लाइफले देशभर विभिन्न सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ। कम्पनीले केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गर्नुका साथै शाखा कार्यालयमार्फत रक्तदान, वृक्षरोपण, खाद्यान्न वितरण तथा जीवन बीमासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो।
कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत खिलेंद्र पौडेलले सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालित कार्यक्रमले समाजका विभिन्न वर्ग र क्षेत्रमा प्रत्यक्ष सहयोग पुर्याउनुका साथै जीवन बीमाको महत्त्वबारे जनचेतना बढाउने उद्देश्य राखेको बताए।
उनका अनुसार रक्तदान कार्यक्रमले अस्पतालमा देखिने रगतको अभाव कम गर्न, वृक्षरोपणले वातावरण संरक्षणमा योगदान पुर्याउन तथा खाद्यान्न वितरणले आर्थिक रूपमा विपन्न परिवारलाई राहत दिन सहयोग गर्नेछ।
आईएमई लाइफले विगत नौ वर्षमा सर्वसुलभ पहुँच, छिटोछरितो दाबी भुक्तानी र व्यवसायअनुकूल समाधानमार्फत ग्राहकको विश्वास जित्दै आएको दाबी गरेको छ। देशभर फैलिएको शाखा सञ्जाल र दक्ष जनशक्तिमार्फत गुणस्तरीय बीमा सेवा सर्वसाधारणसम्म पुर्याउने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।