काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै नेपालको अटोमोबाइल बजारमा विद्युतीय सवारीसाधनको बलियो उपस्थिति देखिएको छ। कार, जिप र भ्यानको समग्र आयात उल्लेख्य रूपमा बढ्दा विद्युतीय कारको आयात भने गत वर्षको तुलनामा चार गुणाभन्दा बढी पुगेको छ। दुईपाँग्रे सवारीको कुल आयात केही घटे पनि विद्युतीय स्कुटरले एकै महिनामा नयाँ रेकर्ड बनाएको छ।
भन्सार विभागको तथ्यांकअनुसार साउन महिनामा कुल ९८७ युनिट कार, जिप र भ्यान नेपाल भित्रिएका छन्। गत वर्षको साउनमा ७९७ युनिट आयात भएकोमा यसपटक १९० युनिट थपिँदै आयात करिब २४ प्रतिशतले बढेको हो।
चारपाँग्रे सवारीको आयात वृद्धिको मुख्य चालक विद्युतीय कार बनेको छ। साउनमा मात्रै ६८९ युनिट विद्युतीय कार आयात भएका छन्। गत वर्षको सोही महिनामा यस्तो संख्या १६० युनिट मात्रै थियो। अर्थात् एक वर्षमै विद्युतीय कार आयात चार गुणाभन्दा बढी भएको छ।
यस अवधिमा २१९ युनिट पेट्रोल, ५६ युनिट डिजेल र २३ युनिट प्लग–इन हाइब्रिड कारसमेत नेपाल भित्रिएका छन्।
कुल कार, जिप र भ्यान आयातमध्ये विद्युतीय सवारीको हिस्सा करिब ७० प्रतिशत पुगेको देखिन्छ। यसले नेपाली अटो बजारमा पेट्रोलियम सवारीको तुलनामा ईभीप्रतिको आकर्षण तीव्र रूपमा बढिरहेको संकेत गर्छ।
२ अर्ब १९ करोडको चारपाँग्रे आयात, राजस्व २ अर्ब ४४ करोड
साउनमा कार, जिप र भ्यानको कुल आयात मूल्य २ अर्ब १९ करोड रुपैयाँ रहेको छ। यसबाट सरकारले करिब २ अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन गरेको भन्सार विभागले जनाएको छ।
विद्युतीय कार मात्रै १ अर्ब ६१ करोड रुपैयाँ बराबरको आयात हुँदा त्यसबाट सरकारले १ अर्ब ६ करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ।
त्यस्तै, पेट्रोल र डिजेल कार ४४ करोड ८५ लाख रुपैयाँ बराबरको आयात हुँदा १ अर्ब ९ करोड रुपैयाँ राजस्व संकलन भएको छ। करिब १३ करोड रुपैयाँ बराबरका हाइब्रिड कार आयातबाट सरकारलाई २९ करोड रुपैयाँ राजस्व प्राप्त भएको विभागको तथ्यांक छ।
साउनमा सम्पन्न नाइमा मोबिलिटी एक्स्पो तथा भदौमा आयोजना हुने नाडा अटो शो लक्षित गर्दै व्यवसायीहरूले नयाँ ब्रान्ड र मोडलका सवारी ठूलो संख्यामा भित्र्याएकाले आयात बढेको देखिन्छ।
दुईपाँग्रे आयात घट्यो, ई–स्कुटरमा भने नयाँ रेकर्ड
चारपाँग्रेको आयात बढ्दा दुईपाँग्रे सवारीमा भने केही गिरावट देखिएको छ।
साउन महिनामा कुल २७ हजार ८०६ युनिट मोटरसाइकल तथा स्कुटर आयात भएका छन्। गत वर्षको सोही महिनामा ३० हजार ८७ युनिट आयात भएको थियो। यस आधारमा दुईपाँग्रेको आयात करिब ७.६ प्रतिशतले घटेको छ।
तर समग्र दुईपाँग्रे बजार खुम्चिँदा पनि विद्युतीय स्कुटरको आयातले भने नयाँ रेकर्ड बनाएको छ।
साउनमा पहिलो पटक एकै महिनामा ५ हजार १७४ युनिट विद्युतीय दुईपाँग्रे नेपाल भित्रिएका छन्। कुल दुईपाँग्रे आयातमा विद्युतीय सवारीको हिस्सा १८.६० प्रतिशत पुगेको छ।
दुईपाँग्रे सवारी तथा त्यसका अनएसेम्बल सामग्रीसमेत गरी करिब ४ अर्ब रुपैयाँको आयात भएको छ। यसबाट सरकारले ३ अर्ब ४८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।
विभागका अनुसार साउनमा आयात भएका दुईपाँग्रेमध्ये ८० प्रतिशतभन्दा बढी अनएसेम्बल अवस्थाका छन्। नेपालमा हाल बजाज, टीभीएस, यामाहा, होण्डा, रोयल इनफिल्ड, हिरो र सीएफमोटो लगायतका ब्रान्डले स्थानीय स्तरमै सवारी एसेम्बल गर्दै आएका छन्।
चालु आर्थिक वर्षको पहिलो महिनाको तथ्यांकले चारपाँग्रेमा ईभीको दबदबा झन् बलियो बनेको र दुईपाँग्रे बजारमा समेत विद्युतीय सवारी तीव्र गतिमा हिस्सा बढाउँदै गएको स्पष्ट संकेत गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।