काठमाण्डौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने कार, ट्रक तथा अटो पार्ट्समा लाग्दै आएको ट्यारिफ २५ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्याउने चेतावनी दिएका छन्।
ट्रम्पले सोमबार क्यानडाको अटोमोबाइल क्षेत्रमा लाग्ने ट्यारिफ दोब्बर बनाउने घोषणा गर्दै यस्तो व्यवस्था आगामी जनवरी १ देखि लागू गर्ने बताएका हुन्।
अमेरिका र क्यानडाबीच व्यापारसम्बन्धी वार्ता समाप्त भएको र दुई देशबीच तनाव बढिरहेका बेला ट्रम्पको पछिल्लो चेतावनी आएको हो।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले ट्रम्पको पछिल्लो ट्यारिफ धम्कीलाई अप्रत्याशित नभएको प्रतिक्रिया दिएका छन्। उनले ट्रम्प प्रशासनमाथि क्यानडाको अटो उद्योगलाई कमजोर बनाउने प्रयास गरेको आरोपसमेत लगाए।
कार्नीले अमेरिकाले सकारात्मक दृष्टिकोणसहित वार्ताको टेबलमा फर्किए क्यानडा पनि वार्ता पुनः सुरु गर्न तयार रहेको बताएका छन्।
यसअघि भएको व्यापार वार्ताका क्रममा अमेरिकाले अन्तिम चरणमा राखेका केही माग स्वीकार गर्न नसकिने खालका रहेको क्यानडाली अधिकारीहरूको दाबी छ। ती मागमध्ये क्यानडाले भविष्यमा कुन–कुन देशसँग व्यापार सम्झौता गर्न पाउने भन्ने विषयमा सीमितता लगाउने प्रस्तावसमेत रहेको बताइएको छ।
अमेरिकी अधिकारीहरूले भने वार्ता असफल हुनुमा क्यानडालाई जिम्मेवार ठहराएका छन्। अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीयरले सोमबार सीएनबीसीसँगको कुराकानीमा क्यानडाले वार्ताका क्रममा थप मागहरू राखेको दाबी गरेका छन्।
क्यानडाको अटो उद्योगमा अमेरिकी बजारको ठूलो निर्भरता रहेकाले प्रस्तावित ट्यारिफ वृद्धिले दुई देशबीचको व्यापार सम्बन्धमा थप दबाब सिर्जना गर्नुका साथै कार तथा अटो पार्ट्सको मूल्य र आपूर्ति शृंखलामा समेत असर पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।