काठमाण्डौ । भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम अझै कायमै रहेको भन्दै सम्बन्धित निकायले अर्को सूचना जारी नभएसम्म नदीबाट टाढा र सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई आग्रह गरेको छ।
नेपाल बाढी सूचना प्रणालीले बुधबार दिउँसो १:३५ बजे जारी गरेको उच्च सतर्कता सूचनामा चीनतर्फबाट प्राप्त जानकारीअनुसार नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा नखोलिएको उल्लेख गरिएको छ।
यसका कारण भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा जोखिम कायम रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन भनिएको छ।
सूचनामा भनिएको छ, ‘चीनतर्फबाट प्राप्त सूचना अनुसार नदी थुनिएको स्थानमा अझै पनि ताल पूरा नखोलिएको हुँदा भोटेकोशी र त्रिशूलीको क्षेत्रमा जोखिम कायमै रहेको र अर्को सूचना जारी नहुँदासम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहिरहन अनुरोध छ।’
अकस्मात् ठूलो परिमाणमा पानी छुट्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै नदी किनार, तल्लो तटीय क्षेत्र तथा जोखिमयुक्त स्थानका नागरिकलाई सुरक्षित स्थान नछाड्न आग्रह गरिएको हो।
भोटेकोशीमा बुधबार बिहान आएको भीषण बाढीले रसुवादेखि नुवाकोट र धादिङसम्मका नदी तटीय क्षेत्रमा क्षति पुर्याइसकेको छ। यस्तो अवस्थामा माथिल्लो क्षेत्रमा थुनिएको पानी पूर्ण रूपमा निकास नभइसकेको सूचनाले थप जोखिम कायम रहेको संकेत गरेको छ।
सम्बन्धित निकायले आधिकारिक सूचना र सतर्कता सन्देशलाई निरन्तर पछ्याउन तथा जोखिमपूर्ण क्षेत्रमा अनावश्यक आवतजावत नगर्न आग्रह गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।