काठमाण्डौ । नेपाल–चीन सीमा क्षेत्रमा बुधबार बिहान ४.४ म्याग्निच्युडको भूकम्प गएको केही समयमै तिब्बततर्फबाट भोटेकोशी नदीमा भीषण बाढी नेपाल प्रवेश गरेको पाइएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार बिहान ८:३७ बजे गएको भूकम्पको केन्द्र कोदारीबाट करिब ७७ किलोमिटर उत्तर–उत्तरपश्चिम क्षेत्रमा रहेको थियो। भूकम्पको गहिराइ करिब १० किलोमिटर मापन गरिएको थियो।
त्यसको केही समयपछि, बिहान करिब ९ बजे, तिब्बततर्फबाट भोटेकोशी हुँदै ठूलो बाढी रसुवा क्षेत्रमा प्रवेश गरेको प्रारम्भिक विवरण आएको छ।
भूकम्प र त्यसपछि आएको बाढीको समयक्रम निकै नजिक देखिए पनि यी दुई घटनाबीच प्रत्यक्ष कारण–सम्बन्ध रहेको पुष्टि भने अहिलेसम्म भएको छैन।
भोटेकोशीको माथिल्लो जलाधार क्षेत्र चीनको तिब्बतसँग जोडिएको छ। यसअघि सम्बन्धित निकायहरूले माथिल्लो क्षेत्रमा हिमपहिरो, हिमताल वा नदी थुनिएर बनेको अस्थायी तालसँग सम्बन्धित घटना हुनसक्ने सम्भावनाबारे अध्ययन भइरहेको बताएका छन्।
यस्तो अवस्थामा भूकम्पले कुनै हिमपहिरो निम्त्याएको हो, पहाडी भूभाग अस्थिर बनाएको हो वा थुनिएको पानीको निकासमा प्रभाव पारेको हो भन्ने विषय प्राविधिक अध्ययनबाट मात्रै स्पष्ट हुनेछ।
बाढीले रसुवासहित त्रिशूली नदीको तटीय क्षेत्रका नुवाकोट, धादिङ, चितवन र गोरखालगायत क्षेत्रमा ठूलो भौतिक क्षति पुर्याएको प्रारम्भिक विवरण छ।
विभिन्न ठाउँमा नदी तटीय बस्ती, सडक, जलविद्युत् आयोजना तथा अन्य पूर्वाधार प्रभावित भएका छन्। क्षतिको पूर्ण विवरण भने संकलनकै क्रममा छ।
भूकम्प गएको केही समयमै बाढी आएको तथ्यले घटनाको कारणबारे नयाँ प्रश्न थपेको भए पनि आधिकारिक निकायहरूले प्राविधिक अध्ययन पूरा नभएसम्म निष्कर्षमा नपुग्न आग्रह गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।