काठमाण्डौ । सरकारले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन विशेष व्यवस्था लागू गरेको छ। संकटग्रस्त घोषणा गरिएका ६ जिल्लामा उद्धार प्रयोजनका लागि ड्रोन उडाउन अब पूर्वअनुमति लिनु नपर्ने भएको छ।
बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा र तनहुँमा खोज तथा उद्धारका लागि उपलब्ध ड्रोन तत्काल प्रयोग गर्न सकिने जानकारी दिए।
उद्धारमा सहयोग गर्न चाहने ड्रोन सञ्चालकलाई सरकारको हटलाइन नम्बर १२३४ मा सम्पर्क गरी सम्बन्धित निकायसँग समन्वय गर्न आग्रह गरिएको छ।
सरकारले बाढी तथा पहिरोका कारण दुर्गम क्षेत्रमा फसेर हवाई उद्धारको पर्खाइमा रहेका नागरिकलाई उद्धार हेलिकप्टरको ध्यान आकर्षित गर्न सकिने संकेत प्रयोग गर्नसमेत आग्रह गरेको छ। सुरक्षित अवस्था भए आगो बालेर धुवाँ निकाल्ने वा स्पष्ट देखिने अन्य संकेतमार्फत हेलिकप्टरलाई आफ्नो अवस्थाबारे जानकारी दिन सकिने सरकारको भनाइ छ।
प्रविधिको पहुँच भएका नागरिकले आफ्नो वास्तविक स्थान पत्ता लगाउन सहज होस् भनेर सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई ह्वाट्सएपमार्फत ‘जियो–लोकेसन’ पठाउन सक्ने व्यवस्था पनि मिलाइएको छ।
६ जिल्ला विपद् संकटग्रस्त
सरकारले बाढीको प्रभाव र सम्भावित जोखिमलाई ध्यानमा राख्दै रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा र तनहुँलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
ती जिल्लामा सञ्चार, सुरक्षा तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सबै सरकारी संयन्त्रलाई उद्धार तथा राहतमा केन्द्रित हुन निर्देशन दिइएको छ।
सरकारका अनुसार बाढी प्रभावित क्षेत्रको खोज तथा उद्धारका लागि ११ वटा हेलिकप्टर तयारी अवस्थामा राखिएका छन्। आवश्यकताअनुसार तिनलाई प्रभावित क्षेत्रमा परिचालन गर्ने व्यवस्था मिलाइएको छ।
चीन र भारतसँग पनि समन्वय
सीमापार क्षेत्रबाट सुरु भएको बाढी र त्यसको व्यापक प्रभावलाई मध्यनजर गर्दै सरकारले छिमेकी मुलुक चीन र भारतसँग समेत उद्धार तथा विपद् व्यवस्थापनका विषयमा समन्वय गरिरहेको जनाएको छ।
विशेषगरी सडक सम्पर्क विच्छेद भएका र स्थलमार्गबाट उद्धार कठिन भएका स्थानमा हेलिकप्टर तथा ड्रोनलाई बढी प्रयोग गर्ने सरकारको तयारी छ।
भोटेकोशीबाट सुरु भएको भीषण बाढी त्रिशूली नदी हुँदै तल्लो तटीय क्षेत्रमा फैलिँदा विभिन्न जिल्लामा जनधन तथा पूर्वाधारमा क्षति पुगेको छ। प्रभावित क्षेत्रमा सुरक्षा निकायसहित विभिन्न सरकारी संयन्त्रले खोज, उद्धार र राहत कार्य जारी राखेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।