काठमाण्डौ। रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक तथा भीषण बाढीबाट टिमुरे, स्याफ्रुबेँसी, त्रिशूलीलगायत क्षेत्रमा भएको जनधन तथा भौतिक क्षतिप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले गहिरो दुःख व्यक्त गरेको छ।
नाडाले बाढीबाट प्रभावित नागरिक, व्यवसायी, श्रमिक तथा सुरक्षाकर्मीप्रति सहानुभूति व्यक्त गर्दै बेपत्ता तथा प्रभावित व्यक्तिहरूको तत्काल खोज, उद्धार र सुरक्षित स्थानान्तरणलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेकोप्रति प्रशंसा गरेको छ। विपद्को यस कठिन घडीमा नाडा सरकार र नागरिकको साथमा रहेको समेत जनाएको छ।
नाडाका अनुसार रसुवा–केरुङ नाका नेपालको उत्तरी व्यापार तथा अटोमोबाइल आपूर्ति शृंखलाका लागि महत्वपूर्ण क्षेत्र हो। बाढीका कारण नाकामा रहेका नाडामा आबद्ध सदस्य तथा अटोमोबाइल व्यवसायीका सामान र सवारीसाधनमा समेत ठूलो क्षति पुगेको आशंका गरिएको छ। यद्यपि क्षतिको यकिन विवरण भने प्राप्त भइनसकेको नाडाले जनाएको छ।
सडक, पुल, भन्सार, व्यापारिक संरचना तथा अन्य पूर्वाधारमा भएको क्षतिले सवारीसाधन आयात तथा समग्र आपूर्ति व्यवस्थामा प्रत्यक्ष असर पार्न सक्ने भन्दै नाडाले घटनाको तत्काल विस्तृत क्षति मूल्यांकन गर्न सरकारसँग आग्रह गरेको छ।
त्यस्तै, बाढीबाट क्षतिग्रस्त सडक तथा यातायात पूर्वाधारको यथाशीघ्र पुनःस्थापना गरी सुरक्षित रूपमा आवागमन सञ्चालन गर्ने वातावरण बनाउन तथा रसुवा–केरुङ नाकाबाट हुने व्यापारिक गतिविधिलाई प्राथमिकताका साथ सहज बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
नाडाले बाढीका कारण सवारीसाधन, अटोमोबाइल व्यवसाय, भन्सार क्षेत्र तथा अन्य व्यापारिक सम्पत्तिमा भएको क्षतिको यथार्थ विवरण संकलन गरी प्रभावित व्यवसायीलाई आवश्यक सहजीकरण गर्न समेत सरकारसँग अनुरोध गरेको छ।
विशेषगरी क्षतिग्रस्त सवारीसाधनको पहिचान तथा मूल्यांकन, बीमा दाबी र भन्सारसम्बन्धी प्रक्रियालाई विपद्को विशेष परिस्थितिलाई ध्यानमा राखी सरल, सहज र छिटो बनाउनुपर्ने नाडाको धारणा छ।
विपद्को अवस्थामा सरकार, सुरक्षा निकाय, स्थानीय तह, व्यवसायी तथा अन्य सरोकारवाला पक्षबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको नाडाले जनाएको छ। प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन निजी क्षेत्रका तर्फबाट आवश्यक सहयोग र सहकार्य गर्न आफूहरू तयार रहेको समेत नाडाले स्पष्ट पारेको छ।
नाडाले प्राकृतिक विपत्तिबाट प्रभावित सम्पूर्ण नागरिक तथा व्यवसायीको शीघ्र उद्धार, राहत तथा पुनःस्थापनाको काम प्रभावकारी रूपमा अघि बढोस् भन्ने कामना गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।