बुधबार, भाद्र १०,२०८३ 08:07:00
Bizshala
  • बुधबार, भाद्र १०,२०८३ 08:07:00
Bizshala
Global IME Bank Limited

एक सातापछि बिजुली बाल्ने तयारीमा रहेको लाङटाङ खोला आयोजना बाढीले तहसनहस, ६० जना सम्पर्कविहीन

पावर हाउस पूर्ण रूपमा बग्यो, सुरुङभित्र काम गरिरहेका इञ्जिनियर–मजदुरको अवस्था अज्ञात; सञ्चालक भन्छन्– ‘आयोजना फेरि बनाउँला, मान्छे कहाँबाट ल्याउने ?’

एक सातापछि बिजुली बाल्ने तयारीमा रहेको लाङटाङ खोला आयोजना बाढीले तहसनहस, ६० जना सम्पर्कविहीन
New Office

 

काठमाण्डौ ।  निर्माण सकिएर करिब एक सातापछि विद्युत् उत्पादन सुरु गर्ने तयारीमा रहेको रसुवाको लाङटाङ खोला जलविद्युत् आयोजना भोटेकोशीमा आएको भीषण बाढीले तहसनहस बनाएको छ।

बाढीले आयोजनाको पावर हाउस पूर्ण रूपमा बगाएको छ भने सुरुङभित्र काम गरिरहेका करिब ६० जना इञ्जिनियर, कर्मचारी तथा मजदुर सम्पर्कविहीन भएका छन्।

बुधबार बिहान चीनको तिब्बततर्फबाट आएको भीषण बाढीले आयोजना क्षेत्रमा अकल्पनीय क्षति पुर्‍याएको हो।

निर्माण कम्पनी मल्टी इनर्जी प्रालिका प्रबन्ध निर्देशक विजयमोहन भट्टराईका अनुसार बाढी आउँदा सुरुङभित्र कर्मचारी तथा मजदुर कङ्क्रिट ढलानको काम गरिरहेका थिए।

आयोजनामा मल्टी इनर्जीका इञ्जिनियर, ओभरसियर, सुरक्षा गार्ड र भान्छेसहित २५ जना तथा पेटी ठेकेदारअन्तर्गतका करिब ३५ जना मजदुर कार्यरत थिए। उनीहरू बुधबार बिहानदेखि सम्पर्कमा नरहेको भट्टराईले बताएका छन्।

बत्ती बाल्ने तयारी थियो, बाढीले सबै सपना बगायो

आयोजना विद्युत् उत्पादनको अन्तिम तयारीमा पुगेको थियो। सबै काम लगभग सकिएर अर्को सातादेखि विद्युत् उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने तयारी भइरहेको भट्टराईले जानकारी दिए।

‘अर्को साता बत्ती बाल्ने तयारी थियो। तीन दिनअघि मात्रै फिल्डमा गएर आएको थिएँ,’ उनले भने, ‘आयोजना त फेरि बनाउँला, तर हाम्रा काबिल इञ्जिनियर र मजदुरहरूको अवस्था अज्ञात हुँदा मन बेचैन भएको छ।’

उनका अनुसार बाढीले पावर हाउसको संरचना नै नदेखिने गरी बगाएको छ। आयोजनाको अन्य संरचनामा समेत ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी छ।

Bizshala
CG Motors

सामान्य बाढी होइन, ‘महाप्रलय’

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का सचिवसमेत रहेका भट्टराईले घटनालाई सामान्य बाढी भन्न नसकिने बताएका छन्।

उनका अनुसार बाढी प्राकृतिक जलसतहभन्दा करिब १२५ मिटर माथिसम्म पुगेको थियो। यही कारण आयोजनाका संरचना अत्यन्त ठूलो क्षतिको चपेटामा परेको उनको भनाइ छ।

उनले घटनालाई ‘महाप्रलय’को संज्ञा दिँदै अहिले आयोजनामा भएको आर्थिक तथा भौतिक क्षतिभन्दा सम्पर्कविहीन कर्मचारी र मजदुरको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन्।

‘प्रोजेक्ट त फेरि बनाऔँला। तर मान्छे कहाँबाट ल्याउने ?’ उनले भने।

खोजी र उद्धारमा सबैभन्दा ठूलो चुनौती

सुरुङभित्र काम गरिरहेका व्यक्तिहरूको अवस्थाबारे यकिन विवरण नआएकाले परिवार तथा आयोजनासम्बद्ध पक्षमा चिन्ता बढेको छ।

बाढीका कारण आयोजना क्षेत्रसम्म पुग्ने सडक तथा सञ्चार सम्पर्क प्रभावित भएकाले सम्पर्कविहीन व्यक्तिहरूको अवस्था पत्ता लगाउन कठिनाइ भइरहेको छ।

सम्बन्धित सरकारी निकाय, सुरक्षा संयन्त्र र आयोजनाका प्रतिनिधिहरूले उनीहरूको खोजी तथा उद्धारका लागि समन्वय गरिरहेका छन्।

भोटेकोशीमा आएको भीषण बाढीले सञ्चालनमा रहेका तथा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको छ। तर उत्पादनको संघारमै पुगेको लाङटाङ खोला आयोजनाको पावर हाउस ध्वस्त हुनु र दर्जनौं कर्मचारी तथा मजदुर सम्पर्कविहीन हुनु ऊर्जा क्षेत्रमा यो विपद्को सबैभन्दा गम्भीर घटनामध्ये एक बनेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.