काठमाण्डौ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारको नेतृत्वमा ३४ सदस्यीय नेपाली सुनचाँदी, रत्न तथा आभूषण व्यवसायीको प्रतिनिधिमण्डलले जापानमा जारी जापान ज्वेलरी फेयर २०२६ मा सहभागिता जनाएको छ।
टोकियोमा अगस्ट २६ देखि सुरु भएको ज्वेलरी फेयर अगस्ट २८, २०२६ सम्म सञ्चालन हुँदैछ। फेयरमा सहभागिताका क्रममा नेपाली प्रतिनिधिमण्डलले जापान ज्वेलरी एसोसिएसन तथा आयोजक संस्थाका उच्च पदाधिकारीसँग भेटघाट तथा छलफल गरेको महासंघले जनाएको छ।
भेटघाटमा जापान ज्वेलरी एसोसिएसनका अध्यक्ष केइता नागाहोरी, कार्यकारी निर्देशक योशिहितो सुकामोटो, इन्फोर्मा मार्केट्स जापानका प्रमुख कार्यकारी अधिकृत जेम्स सोबाक, उपाध्यक्ष नोबुआकी निटो तथा ज्वेलरी फेयरकी प्रोजेक्ट इभेन्ट म्यानेजर हिरोमी साकुराईलगायत सहभागी थिए।
भेटका क्रममा नेपाल र जापानका सुनचाँदी, रत्न तथा आभूषण क्षेत्रबीच व्यावसायिक तथा संस्थागत सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो। विशेषगरी व्यवसायी–व्यवसायीबीच सहकार्य, व्यापार प्रवर्द्धन, ज्ञान तथा प्रविधि आदानप्रदान, बजार पहुँच विस्तार, आधुनिक डिजाइनको विकास तथा परम्परागत आभूषण निर्माण सीपको प्रवर्द्धनबारे विचार आदानप्रदान गरिएको महासंघले जनाएको छ।
त्यस्तै, अन्तर्राष्ट्रिय ज्वेलरी प्रदर्शनी तथा मेलामा दुवै देशका व्यवसायीको सहभागिता बढाउने, संयुक्त पहल अघि बढाउने र बिजनेस म्याचिङ कार्यक्रममार्फत व्यावसायिक सम्बन्ध विस्तार गर्ने विषयमा समेत सकारात्मक छलफल भएको बताइएको छ।
महासंघका अध्यक्ष किसान सुनारले नेपालमा रहेको मौलिक तथा परम्परागत आभूषण कला, दक्ष कालिगढ र सुनचाँदी तथा रत्न–आभूषण क्षेत्रको अन्तर्राष्ट्रिय बजारमा रहेको सम्भावनाबारे जापानी पक्षलाई जानकारी गराएका थिए। उनले नेपाली आभूषणलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्दै जापानलगायत विभिन्न मुलुकका सम्बन्धित संस्था तथा व्यवसायीसँग दीर्घकालीन व्यावसायिक सम्बन्ध विस्तार गर्न महासंघ प्रतिबद्ध रहेको बताए।
जापान ज्वेलरी एसोसिएसन तथा फेयर आयोजक पक्षले नेपाली प्रतिनिधिमण्डललाई स्वागत गर्दै जापान ज्वेलरी फेयरमा नेपालको सहभागिताप्रति खुसी व्यक्त गरेको महासंघले जनाएको छ।
दुवै पक्षले आगामी दिनमा निरन्तर संवाद र संस्थागत सहकार्यलाई प्राथमिकता दिँदै एकअर्काका देशमा आयोजना हुने ज्वेलरीसम्बन्धी प्रदर्शनी तथा मेलामा सहभागिता बढाउने, व्यावसायिक अनुभव तथा प्रविधि आदानप्रदान गर्ने र नेपाली तथा जापानी व्यवसायीबीच प्रत्यक्ष व्यापारिक सम्बन्ध विस्तार गर्ने विषयमा सहमति जनाएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।