Bizshala
  • बिहीबार, भाद्र ११,२०८३ 08:07:21
Bizshala
Global IME Bank Limited

चितवनमा शवगृह भरियो, ५ सय शव राख्न मिल्ने छुट्टै पहिचान केन्द्र बनाइँदै

भरतपुर अस्पतालको क्षमता नपुग्दा शव बाहिर त्रिपालमुनि, पीडित परिवारका लागि निःशुल्क बसोबास र एम्बुलेन्सको व्यवस्था

चितवनमा शवगृह भरियो, ५ सय शव राख्न मिल्ने छुट्टै पहिचान केन्द्र बनाइँदै
New Office

 

काठमाण्डौ ।  रसुवाको भोटेकोशी बाढीले बगाएर ल्याएका शवको संख्या तीव्र रूपमा बढेपछि चितवनमा शव व्यवस्थापनमै ठूलो चुनौती देखिएको छ।

भरतपुर अस्पतालको शवगृह भरिएपछि थप शव राख्ने ठाउँ अभाव भएको हो। अस्पतालका सूचना अधिकारी गोपालप्रसाद पौडेलका अनुसार हालसम्म ६४ वटा शव अस्पतालमा ल्याइएको छ।

अस्पतालको मर्चरीमा एकपटकमा १२ वटा शव मात्रै राख्न सकिने क्षमता छ। ६ वटा फ्रिजरमा दुई-दुई शव राख्दा जम्मा १२ शव अट्ने भए पनि यसअघि नै केही बेवारिसे शवसमेत रहेकाले अहिलेको ठूलो हताहत धान्न नसकिएको अस्पतालले जनाएको छ।

ठाउँ अभाव भएपछि केही शव त्रिपाल टाँगेर बाहिरै राख्नुपर्ने अवस्था आएको छ।

गर्मीका कारण लामो समय शव बाहिर राख्दा बिग्रने र दुर्गन्ध फैलिने जोखिम बढेपछि जिल्ला सुरक्षा समितिले वैकल्पिक व्यवस्था अघि बढाएको छ।

Bizshala
CG Motors

५ सय शव अट्ने ‘पहिचान केन्द्र’ तयार हुँदै

भरतपुरस्थित औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको पुरानो भवनमा ‘पीडित परिवार सम्पर्क परामर्श केन्द्र’ अर्थात् शव पहिचान केन्द्र तयार पारिँदैछ।

चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार उक्त केन्द्रमा एकैपटक ५ सयसम्म शव राख्न सकिने व्यवस्था मिलाइँदैछ।

चितवन क्षेत्रबाट मात्रै हालसम्म १०८ वटा शव फेला परिसकेको जनाइएको छ। फेला परेका शवलाई सुरुमा भरतपुर अस्पतालको मर्चरीमा लगेर सफा गर्ने, ट्याग लगाउने र ‘बडी ब्याग’मा राख्ने काम भइरहेको छ।

त्यसपछि शवलाई माइनस तापक्रम कायम हुने विशेष कुलिङ हलमा सारिनेछ।

यसरी राखिएका शवको विवरण र तस्बिर नेपाल प्रहरीको वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने तयारी छ। आफन्त तथा परिवारका सदस्यले तस्बिरका आधारमा पहिचान गर्न सक्नेछन्।

बेपत्ताको खोजी गर्न पहिले प्रहरीमा निवेदन

बेपत्ता व्यक्तिको खोजीका लागि परिवारले सुरुमा जिल्ला प्रहरी कार्यालय चितवनमा निवेदन दिनुपर्नेछ।

शव पहिचान भएपछि ट्याग नम्बरका आधारमा सम्बन्धित शव निकालेर आवश्यक कानुनी प्रक्रिया तथा पोस्टमार्टम पूरा गरी परिवारलाई जिम्मा लगाइनेछ।

जिल्ला प्रशासन कार्यालयले पीडित परिवारका लागि निःशुल्क बसोबास र २४ सै घण्टा एम्बुलेन्स सेवा दिने व्यवस्था मिलाएको छ।

होटल व्यवसायी संघ चितवन र सौराहासँगको समन्वयमा पीडित परिवारका सदस्यलाई निःशुल्क बस्ने व्यवस्था मिलाइएको छ।

शव सनाखत भएपछि घरसम्म पुर्‍याउन करिब २२ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ।

कुनै समस्या परेमा नेपाल प्रहरीको १०० नम्बरमा सम्पर्क गर्न सकिने एसपी पौडेलले बताएका छन्।

भोटेकोशी बाढीको मानवीय क्षति बढ्दै जाँदा चितवन अहिले शव संकलन, पहिचान र परिवारलाई जिम्मा लगाउने प्रमुख केन्द्रमध्ये एक बनेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.