काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा घोषणा भएको २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग प्याकेजमध्ये अनुदानभन्दा सहुलियतपूर्ण ऋणको हिस्सा तीन गुणाभन्दा बढी रहेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त प्याकेजमा ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ ‘लाइन अफ क्रेडिट’ अर्थात् आवश्यकताअनुसार उपयोग गर्न सकिने ऋण सुविधा रहेको स्पष्ट पारेका छन्।
मंगलबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले भारतबाट प्राप्त हुने सहयोगको संरचना, ऋणको प्रकृति तथा भुक्तानीसम्बन्धी व्यवस्थाबारे जानकारी गराएका हुन्।
उनका अनुसार १ खर्ब ८४ अर्ब रुपैयाँको लाइन अफ क्रेडिट तत्कालै ऋण लिएर सरकारी खातामा जम्मा गर्ने रकम होइन। यो पूर्वाधार निर्माण तथा विकास आयोजनाका लागि आवश्यकता र प्रगतिका आधारमा परिचालन गर्न सकिने वित्तीय स्रोतको सुनिश्चितता हो।
‘हामीले काम गर्दै र निर्माण कार्य अगाडि बढाउँदै जाने हो भने वित्तीय स्रोतको अभाव नहोस् भन्ने प्रत्याभूति हो यो,’ अर्थमन्त्री वाग्लेले भने।
भारुमै ऋण लिएर भारुमै तिर्न सकिने नयाँ व्यवस्था
भारतसँगको पछिल्लो समझदारीमा नेपालले भारतीय रुपैयाँमै ऋण लिन र सोही मुद्रामा भुक्तानी गर्न सक्ने विकल्प प्राप्त गरेको अर्थमन्त्री वाग्लेले जानकारी दिए।
उनका अनुसार यसअघि भारतले उपलब्ध गराउने लाइन अफ क्रेडिट मुख्यतः अमेरिकी डलरमा आधारित हुने गरेको थियो। डलरको विनिमय दरमा आउने उतारचढावका कारण नेपालले ऋण भुक्तानी गर्दा थप आर्थिक भार व्यहोर्नुपर्ने जोखिम रहन्थ्यो।
भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर कायम रहेकाले भारुमा ऋण लिएर भारुमै तिर्ने व्यवस्थाले डलरको तुलनामा विनिमय दरसम्बन्धी जोखिम कम गर्ने उनको भनाइ छ।
अर्थमन्त्री वाग्लेले विगतमा अमेरिकी डलरको मूल्य करिब ५० रुपैयाँबाट १५० रुपैयाँसम्म पुगेको उदाहरण प्रस्तुत गर्दै विदेशी मुद्रामा लिइने ऋणमा विनिमय दरको प्रभाव महत्त्वपूर्ण हुने बताए।
यद्यपि, भारुमा ऋण लिँदा विनिमय दरसम्बन्धी जोखिम सीमित भए पनि वास्तविक लागत ब्याजदर, भुक्तानी अवधि तथा अन्य सर्तमा निर्भर रहनेछ।
नेपालसँग डलर वा भारुमध्ये कुन मुद्रामा ऋण लिने भन्ने विकल्प खुला रहेको अर्थमन्त्रीले स्पष्ट पारे।
ब्याजदर र ऋण तिर्ने अवधि अझै टुंगिएको छैन
भारतले घोषणा गरेको ठूलो आर्थिक प्याकेजको ऋण हिस्सा कति ब्याजदरमा र कति वर्षका लागि उपयोग गर्न पाइने भन्ने विषय भने अझै निश्चित भइसकेको छैन।
अर्थमन्त्री वाग्लेका अनुसार ब्याजदर, ऋण भुक्तानी अवधि, साँवा भुक्तानी सुरु गर्नुअघिको छुट अवधि अर्थात् ग्रेस पिरियड तथा ऋण परिचालन गरिने मुद्रा प्राविधिक वार्तामार्फत टुंगो लगाइनेछ।
उनले डलरमा उपलब्ध हुने ऋणको ब्याजदर १.५ देखि २.५ प्रतिशतसम्म रहने गरे पनि विनिमय दरको जोखिमका कारण वास्तविक लागत बढ्न सक्ने बताए।
भारुमा ऋण लिँदा ब्याजदर तुलनात्मक रूपमा फरक हुन सक्ने भएकाले दुवै विकल्पको लागत विश्लेषण गरेर निर्णय लिनुपर्ने अवस्था छ।
ऊर्जा क्षेत्रका लागि एक अर्ब डलरको ऋण सुविधा सुनिश्चित
भारतसँगको आर्थिक सहकार्यमा ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ।
अर्थमन्त्री वाग्लेका अनुसार नेपालको दीर्घकालीन ऊर्जा विकासका लागि एक खर्ब अमेरिकी डलरभन्दा बढी लगानी आवश्यक पर्ने अनुमान छ।
यही आवश्यकतालाई ध्यानमा राख्दै ऊर्जा मन्त्रालयको आग्रहमा तत्काल आवश्यक परे उपयोग गर्न सकिने गरी एक अर्ब अमेरिकी डलर बराबरको लाइन अफ क्रेडिट सुनिश्चित गरिएको उनले जानकारी दिए।
ऊर्जा उत्पादन तथा प्रसारण लाइन निर्माणमा यसअघि पनि भारतीय ऋण सुविधाको उपयोग प्रभावकारी देखिएको उनको भनाइ छ।
तर, सडक पूर्वाधारका कतिपय परियोजनामा भारतीय वस्तु तथा सेवाको अनिवार्य उपयोगसम्बन्धी सर्तका कारण समस्या देखिएको वाग्लेले स्मरण गरे।
उनका अनुसार यस्ता सर्तले विगतमा ठेक्का व्यवस्थापन तथा आयोजना कार्यान्वयनमा जटिलता सिर्जना गरेका थिए।
संसदीय समितिमा ऋणको लागत र भुक्तानी क्षमतामाथि प्रश्न
भारतसँगको आर्थिक सहयोग प्याकेजबारे छलफलका क्रममा सांसदहरूले ऋणको ब्याजदर, भुक्तानी अवधि र विदेशी मुद्रा व्यवस्थापनमाथि प्रश्न उठाएका छन्।
नेकपा एमालेका सांसद डा. पुष्पराज कँडेलले १ खर्ब ८४ अर्ब रुपैयाँको ऋण कति वर्षका लागि र कति प्रतिशत ब्याजदरमा प्राप्त हुने हो भन्ने स्पष्ट पार्न माग गरे।
त्यस्तै, नेपाली कांग्रेसका सांसदहरूले भारतीय रुपैयाँमा ऋण लिएर भारतीय रुपैयाँमै भुक्तानी गर्नुपर्ने व्यवस्थाले नेपालको विदेशी मुद्रा व्यवस्थापनमा पार्न सक्ने प्रभावबारे चासो व्यक्त गरे।
नेपालले भारतसँगको व्यापार घाटा व्यवस्थापन तथा आयात भुक्तानीका लागि डलर बेचेर भारतीय रुपैयाँ खरिद गर्दै आएको अवस्थामा ठूलो परिमाणको भारु ऋण तिर्ने स्रोतबारे स्पष्ट हुनुपर्ने उनीहरूको भनाइ थियो।
प्याकेज ठूलो, वास्तविक लाभ कार्यान्वयनमा निर्भर
अर्थमन्त्री वाग्लेका अनुसार नेपालले गरेको आग्रहका आधारमा गत डिसेम्बरदेखि भारतसँग ऋणको मुद्रासम्बन्धी वार्ता हुँदै आएको थियो। पछिल्लो भ्रमणमा भारतले भारुमा ऋण लिन र तिर्न सकिने विकल्प स्वीकार गरेको हो।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत नेपालका लागि यस आकारको आर्थिक प्याकेज यसअघि घोषणा नभएको उल्लेख गरेको जानकारी दिए।
तर, घोषणा भएको सम्पूर्ण रकम तत्काल नेपाल भित्रिने अनुदान वा नगद सहायता भने होइन।
कुल प्याकेजको करिब २३.३ प्रतिशत अनुदान र ७६.७ प्रतिशत ऋण सुविधा रहेको छ।
त्यसैले यो आर्थिक सहयोगको वास्तविक प्रभाव ऋणका अन्तिम सर्त, आयोजना छनोट, कार्यान्वयन क्षमता र ऋण परिचालनको प्रभावकारितामा निर्भर रहनेछ।
विशेषगरी सहुलियतपूर्ण ऋणबाट निर्माण हुने पूर्वाधारले आर्थिक प्रतिफल सिर्जना गर्न सके मात्रै यस्तो ठूलो वित्तीय प्रतिबद्धता दीर्घकालीन रूपमा लाभदायक हुन सक्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।