काठमाण्डौ । सरकारले आर्थिक गतिविधिमा अवरोध सिर्जना गर्ने पुराना तथा असान्दर्भिक कानुन हटाउने प्रक्रिया अघि बढाएको छ। अर्थतन्त्रलाई अनावश्यक नियमनबाट मुक्त गर्दै लगानी, व्यापार र व्यवसाय सञ्चालनको वातावरण सहज बनाउन १५ वटा ऐन खारेज गर्ने प्रस्ताव अघि सारिएको हो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा यस्तो जानकारी दिएका हुन्।
‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथिको दफावार छलफलमा सहभागी हुँदै उनले समयअनुकूल नभएका कानुनी व्यवस्थाका कारण मुलुकको आर्थिक गतिविधि प्रभावित भइरहेको बताए।
उनका अनुसार नेपालमा नयाँ कानुन निर्माण गर्ने क्रम तीव्र भए पनि पुराना कानुन संशोधन वा खारेज गर्ने कामले अपेक्षित गति लिन सकेको छैन। यसले एउटै विषयमा फरकफरक कानुनी व्यवस्था कायम रहने र व्यवसाय सञ्चालनमा अनावश्यक झन्झट थपिने अवस्था सिर्जना गरेको छ।
‘नयाँ कानुन थप्ने तर पुराना नहटाउने प्रवृत्ति घातक’
अर्थमन्त्री वाग्लेले अत्यधिक नियमनले आर्थिक गतिविधिलाई निरुत्साहित गर्न सक्ने भन्दै कानुनी सुधारलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
उनले एउटा कानुनले आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने तर अर्को कानुनले त्यसैलाई नियन्त्रण गर्ने अवस्थाले नीतिगत विरोधाभास उत्पन्न भएको उल्लेख गरे।
नियमन आवश्यक भए पनि त्यसको नाममा अनावश्यक नियन्त्रणमुखी व्यवस्था कायम राख्नु उचित नहुने उनको भनाइ छ।
वाग्लेले विभिन्न अध्ययन तथा प्रतिवेदनले औँल्याएका समस्याका आधारमा १५ वटा ऐन खारेज गर्ने प्रस्ताव अघि बढाइएको स्पष्ट पारे।
उनका अनुसार कानुनी सुधारका लागि फेरि नयाँ आयोग गठन गरेर अध्ययन गराउनुभन्दा यसअघि नै प्राप्त सुझाव कार्यान्वयन गर्नु उपयुक्त हुने भएकाले सरकारले विधायिकी सुधारको प्रक्रिया अगाडि बढाएको हो।
एआईको युगमा पुराना कानुनको औचित्यमाथि प्रश्न
अर्थमन्त्री वाग्लेले प्रविधिको तीव्र विकाससँगै कानुन पनि समयसापेक्ष हुनुपर्नेमा जोड दिए।
विगतको आर्थिक, सामाजिक तथा प्राविधिक परिस्थितिलाई आधार बनाएर निर्माण गरिएका कतिपय कानुन अहिलेको डिजिटल अर्थतन्त्र र कृत्रिम बुद्धिमत्ता (एआई) को युगमा असान्दर्भिक भइसकेको उनको भनाइ छ।
यस्ता कानुन यथावत् राख्दा व्यवसाय सञ्चालनमा अनावश्यक प्रक्रिया थपिने र आर्थिक गतिविधिमा अवरोध उत्पन्न हुने भएकाले तिनको पुनरावलोकन आवश्यक रहेको उनले बताए।
पुराना कानुनमा रहेका अझै आवश्यक व्यवस्था आधुनिक कानुनमा समेटेर असान्दर्भिक ऐन खारेज गर्नुपर्ने उनको प्रस्ताव छ।
कालोबजारी र टिकटसम्बन्धी पुराना ऐन पनि पुनरावलोकन गर्नुपर्ने
अर्थमन्त्री वाग्लेले टिकट टाँस्नेसम्बन्धी पुरानो कानुनी व्यवस्था र कालोबजारीसम्बन्धी ऐनलाई उदाहरणका रूपमा प्रस्तुत गरे।
उपभोक्ता संरक्षणसम्बन्धी नयाँ कानुन कार्यान्वयनमा आइसकेको अवस्थामा सोही प्रकृतिका विषय समेट्ने पुराना कानुनको औचित्यबारे पुनर्विचार गर्नुपर्ने उनको भनाइ थियो।
नयाँ कानुनमार्फत कुनै विषयको नियमन भइरहेकै अवस्थामा पुराना कानुनी प्रावधानलाई निरन्तरता दिँदा नियामकीय दोहोरोपन र प्रक्रियागत जटिलता बढ्ने उनले बताए।
सरकारले प्रस्ताव गरेको कानुनी सुधारले आर्थिक गतिविधिमा सहजता ल्याउने अपेक्षा गरिएको छ। यद्यपि, खारेजीका लागि प्रस्तावित ऐनहरूको अन्तिम टुंगो संसदीय प्रक्रियाबाट लाग्नेछ।
अर्थमन्त्री वाग्लेका अनुसार कानुनी सुधारको मुख्य उद्देश्य नियमन पूर्ण रूपमा हटाउनु नभई आवश्यक नियमनलाई प्रभावकारी बनाउँदै अनावश्यक नियन्त्रण र कानुनी जटिलता कम गर्नु हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।