Bizshala
  • शुक्रबार, भाद्र १२,२०८३ 08:42:06
Bizshala
Global IME Bank Limited

भोटेकोशी विपत्तिको तेस्रो दिनः ५५३ शव भेटिए, हजारौँ अझै सम्पर्कविहीन

कृत्रिम तालमा २५ लाख घनमिटर पानी, ४०० कन्टेनर र १३ जलविद्युत् आयोजनामा अकल्पनीय क्षति, अन्तर्राष्ट्रिय सहायता परिचालन हुँदै

भोटेकोशी विपत्तिको तेस्रो दिनः ५५३ शव भेटिए, हजारौँ अझै सम्पर्कविहीन
New Office

काठमाडौं। भोटेकोशीमा आएको विनाशकारी बाढीको तेस्रो दिनसम्म आइपुग्दा विपत्तिको मानवीय र भौतिक क्षति झन् भयावह देखिएको छ। नदी किनारका विभिन्न जिल्लाबाट शव भेटिने क्रम रोकिएको छैन भने जलविद्युत् आयोजना, व्यापारिक नाका र दुर्गम बस्तीमा फसेका सयौँ मानिसको अवस्था अझै अज्ञात छ।

नेपाल प्रहरीका अनुसार शुक्रबार साँझ ५ बजेसम्म बाढीले बगाएका ५५३ जनाको शव फेला परेको छ। सबैभन्दा धेरै चितवनमा २२२ र नवलपरासी पूर्वमा १३४ शव भेटिएका छन्। गोरखामा ४७, धादिङमा ४०, नुवाकोटमा ३८, तनहुँमा ३१, नवलपरासी पश्चिममा २८ र रसुवामा १३ शव बरामद भएका छन्।

पछिल्लो दिन १ हजार ४७३ जनाको उद्धार गरिएको तथा ९७ घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। विपत्तिमा २७ प्रहरी सम्पर्कविहीन भएकामा एक जनाको शव फेला परेको छ।

विदेशी नागरिकसमेत ठूलो संख्यामा बाढीको चपेटामा परेका छन्। परराष्ट्र मन्त्रालयको शुक्रबार दिउँसोसम्मको विवरणअनुसार ३३ देशका ६३२ नागरिक प्रभावित भएकामा १२१ जना फेला परेका छन् भने ५११ जनाको अवस्था अज्ञात छ। बेपत्ता हुनेमा भारतका ९३, चीनका ८४, अमेरिकाका ६६, युक्रेनका ५३, मलेसियाका ५१, अस्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ नागरिक छन्।

Bizshala
CG Motors

हाइड्रोमा ९३३ सम्पर्कविहीन, एउटै आयोजनामा ५७६ जना

बाढीले रसुवा र नुवाकोटका कम्तीमा १३ जलविद्युत् आयोजनामा प्रत्यक्ष क्षति पुर्‍याएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले जनाएको छ। ती आयोजनामा कार्यरत ९३३ जना सम्पर्कविहीन भएकामा २५४ जनाको उद्धार भएको छ।

अपर त्रिशूली–१ आयोजनामा मात्रै ५७६ कामदारको अवस्था अज्ञात छ। लाङटाङ हाइड्रो, अपर त्रिशूली, त्रिशूली–३ ‘बी’ र चिलिमेलगायत आयोजनाका सुरुङ तथा परिसरमा मानिस फसेको हुन सक्ने आशंका गरिएको छ। सडक र सञ्चार सम्पर्क टुटेको तथा हेलिकोप्टर अवतरण गर्ने स्थानसमेत नभएका कारण उद्धार कठिन बनेको छ।

ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले थप हेलिकोप्टर, उपकरण तथा जनशक्ति प्रभावित क्षेत्रमा पठाएका छन्।

४०० कन्टेनर र एक हजार मानिसको अवस्था अज्ञात

रसुवागढी–केरुङ नाका र त्रिशूली करिडोरमा मालवाहक व्यवसायले इतिहासकै ठूलो क्षति बेहोरेको व्यवसायीले बताएका छन्। तीज, दसैँ र तिहारका सामान लिन गएका कम्तीमा ४०० कन्टेनर तथा तिनमा रहेका चालक, सहचालक, मजदुर, व्यापारी र भन्सार सहजकर्तासहित एक हजारभन्दा बढी मानिस सम्पर्कविहीन रहेको नेपाल ट्रक कन्टेनर ढुवानी सेवाको दाबी छ।

बेत्रावतीमा मात्रै ३० देखि ४० कन्टेनर बगेको र नेपालतर्फ ६० देखि ७० कन्टेनर बगेको दृश्य देखिएको व्यवसायीको भनाइ छ। उनीहरूले भन्सार प्रक्रिया पूरा गरेका गाडीलाई समेत राति सञ्चालन गर्न नदिई असुरक्षित स्थानमा रोकिँदा क्षति बढेको आरोप लगाएका छन्। यद्यपि कन्टेनर र सम्पर्कविहीन मानिसको यो विवरण सरकारी निकायबाट प्रमाणीकरण हुन बाँकी छ।

कृत्रिम तालमा एकै दिन २५ प्रतिशत पानी थपियो

ल्हेन्दे खोलाको सिरानमा हिमचट्टान र पहिरोले नदी थुन्दा बनेको कृत्रिम तालमा शुक्रबारसम्म २५ लाख घनमिटर पानी जम्मा भएको चिनियाँ अधिकारीहरूले जनाएका छन्। यो बिहीबारको तुलनामा २५ प्रतिशत बढी र करिब एक हजार ओलम्पिक आकारका स्विमिङ पुल बराबर हो।

तालबाट पानी ‘ओभरफ्लो’ भइरहे पनि तत्काल बाँध फुटेर ठूलो बाढी आउने अवस्था नदेखिएको चिनियाँ पक्षले नेपाललाई जानकारी दिएको छ। तर शुक्रबार भोटेकोशीमा पुनः लेदोसहित बहाव बढेपछि तल्लो तटीय क्षेत्रमा खोजी तथा उद्धार केही समय रोकिएको थियो।

चिनियाँ विशेषज्ञ टोली ताल नजिक पुगेर ड्रोन, स्याटेलाइट र पानीको सतह मापन गर्ने सेन्सरमार्फत जोखिम मूल्यांकन गरिरहेको छ। राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा बसेको चिनियाँ कम्युनिस्ट पार्टीको बैठकले नेपालमा उद्धार तथा राहत सहयोग बढाउने निर्णय गरेको छ।

भारतले पनि नेपालको अनुरोधमा सुरुङ उद्धार विशेषज्ञ र स्वास्थ्यकर्मीको टोली पठाउने तयारी गरेको छ। उसले ‘नेसनल डिजास्टर रेस्पोन्स फोर्स’ परिचालन गर्ने प्रस्ताव गर्नुका साथै करिब १३ टन राहत सामग्रीसहित तेस्रो विमान पठाउँदैछ।

१७ हजार बालबालिका प्रभावित

राष्ट्रिय बाल परिषद् र युनिसेफले रसुवा, नुवाकोट र धादिङमा करिब १७ हजार बालबालिका प्रभावित भएको प्रारम्भिक आकलन गरेका छन्। बाढीले १८ विद्यालय पूर्ण रूपमा नष्ट गरेको छ भने थप २० विद्यालयमा क्षति पुगेको छ। करिब १० हजार विद्यालय जाने उमेरका बालबालिकालाई अस्थायी सिकाइ केन्द्र, शैक्षिक सामग्री र मनोसामाजिक परामर्श आवश्यक देखिएको छ।

यसैबीच, अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासंघले विपद् प्रतिकार्य र दुई वर्षसम्मको पुनर्स्थापनाका लागि ३ करोड १० लाख अमेरिकी डलर अर्थात् करिब ४ अर्ब ७३ करोड रुपैयाँ सहयोगको अपिल गरेको छ। रेडक्रसले विपत्तिबाट करिब ९३ हजार मानिस प्रभावित भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ।

तेस्रो दिनसम्म उद्धारको गति बढे पनि सम्पर्कविहीनको संख्या, दुर्गम क्षेत्रमा पहुँचको अभाव र कृत्रिम तालबाट कायमै जोखिमले भोटेकोशी विपत्ति अझै नसकिएको स्पष्ट संकेत गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.