काठमाडौं। रुकुम पश्चिममा निर्माण हुने २२.५० मेगावाट क्षमताको जाल्दीगाड जलविद्युत् आयोजनाले वित्तीय स्रोत सुनिश्चित गरेको छ। करिब ४ अर्ब ६० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा तीन बैंकले ३ अर्ब ३६ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका हुन्।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित जाल्दीगाड नदीमा निर्माण हुने आयोजनालाई सांग्रिला हाइड्रोपावर प्रालिले प्रवर्द्धन गर्दैछ। आयोजनामा राष्ट्रिय वाणिज्य बैंकको नेतृत्वमा नेपाल बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले सहवित्तीयकरणमार्फत ऋण लगानी गर्नेछन्।
आयोजनामा बैंकहरूको ऋण लगानी कुल लागतको करिब ७३ प्रतिशत हुनेछ। बाँकी १ अर्ब २३ करोड ७१ लाख रुपैयाँ अर्थात् करिब २७ प्रतिशत रकम प्रवर्द्धकहरूले स्वपुँजीका रूपमा लगानी गर्नेछन्।
आयोजनाको वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा सांग्रिला हाइड्रोपावरका अध्यक्ष खगेन्द्र न्यौपाने र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले हस्ताक्षर गरेका छन्। सम्झौता कार्यक्रममा नेपाल बैंक र निफ्राका प्रतिनिधिसमेत सहभागी थिए।
वित्तीय व्यवस्थापन पूरा भएसँगै आयोजना निर्माणमा जाने मुख्य आधार तयार भएको छ। जलविद्युत् आयोजनाका लागि ऋण सुनिश्चित हुनुलाई निर्माण प्रारम्भ र समयमै सम्पन्न गर्ने दिशामा महत्त्वपूर्ण उपलब्धि मानिन्छ।
आयोजनाबाट वार्षिक १३३.४५ गिगावाट घण्टा विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको छ। यसअनुसार आयोजनाले जडित क्षमताको तुलनामा औसतमा करिब ६७.७ प्रतिशत क्षमतामा विद्युत् उत्पादन गर्ने देखिन्छ। यो उत्पादन प्रक्षेपणले आयोजनालाई तुलनात्मक रूपमा आकर्षक बनाएको छ।
कम्पनीले आयोजना निर्माण अवधि ३३ महिना तोकेको छ। आवश्यक जग्गा खरिदलगायत अधिकांश पूर्वतयारी पूरा भइसकेको र वित्तीय व्यवस्थापनसमेत टुंगिएकाले अब निर्माणलाई तीव्रता दिइने कम्पनीका प्रबन्ध सञ्चालक कृष्णप्रसाद घिमिरेले बताए।
समयअघि आयोजना सकाएको समूह
जाल्दीगाड आयोजना प्रवर्द्धन गर्ने समूहले यसअघि गोरखामा ४.५५ मेगावाट क्षमताको विकास हाइड्रोपावर आयोजना निर्माण गरेर सञ्चालनमा ल्याइसकेको छ। उक्त आयोजना निर्धारित समयभन्दा करिब ६ महिनाअघि नै सम्पन्न गरिएको कम्पनीले जनाएको छ।
विकास हाइड्रोपावरले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) समेत गरिसकेको छ। विगतको आयोजना समयअघि सम्पन्न गरेको अनुभवका कारण जाल्दीगाडको निर्माण पनि निर्धारित अवधिभित्र पूरा हुने अपेक्षा गरिएको छ।
यसै समूहले गोरखामै ४.६ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। उक्त आयोजनाबाट आगामी ६ महिनाभित्र व्यावसायिक विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ।
निर्माणाधीन बूढीगण्डकीसहित जाल्दीगाड आयोजना सम्पन्न भएपछि यो समूहले प्रवर्द्धन गरेका आयोजनाको कुल क्षमता ३१.६५ मेगावाट पुग्नेछ। जाल्दीगाड सञ्चालनमा आएपछि कर्णाली प्रदेशको विद्युत् उत्पादन क्षमता विस्तारसँगै स्थानीय रोजगारी, पूर्वाधार विकास र आर्थिक गतिविधिमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।