मंगलवार, भाद्र १६,२०८३ 03:08:11
Bizshala
  • मंगलवार, भाद्र १६,२०८३ 03:08:11
Bizshala
Global IME Bank Limited

भोटेकोशी–त्रिशूली बाढी: बीमा कम्पनीमा थपियो २५ अर्ब ८७ करोडको दायित्व

भोटेकोशी–त्रिशूली बाढी: बीमा कम्पनीमा थपियो २५ अर्ब ८७ करोडको दायित्व
New Office

काठमाण्डौ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि निर्जीवन बीमा कम्पनीहरूमा दाबी भुक्तानीको दायित्व थपिँदै गएको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार बाढीबाट भएको क्षतिको विवरण संकलनसँगै विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनीमा परेको दाबी रकम मात्रै २५ अर्ब ८७ करोड रुपैयाँ नाघेको छ।

यसअघि नै विभिन्न विपद् तथा दुर्घटनाबाट ठूलो दाबी भुक्तानीको दबाबमा रहेका बीमा कम्पनीहरूलाई भोटेकोशी–त्रिशूली बाढीले थप आर्थिक भार सिर्जना गरेको हो।

कुल दाबीमध्ये सबैभन्दा ठूलो रकम दि ओरियण्टल बीमा कम्पनीमा परेको छ। प्राधिकरणका अनुसार उक्त कम्पनीमा मात्रै १३ अर्ब ४ करोड रुपैयाँ बराबरको दाबी परेको छ।

त्यस्तै, युनाइटेड अजोड इन्स्योरेन्समा ४ अर्ब ९७ करोड, सानिमा जीआईसीमा २ अर्ब १० करोड, सिद्धार्थ प्रिमियरमा १ अर्ब ८८ करोड र शिखर इन्स्योरेन्समा १ अर्ब ८७ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ।

त्यसैगरी, हिमालयन एभरेष्टमा ६४ करोड ८७ लाख, नेकोमा ५१ करोड ७० लाख तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २४ करोड २३ लाख रुपैयाँ बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ।

Bizshala
CG Motors

इन्जिनियरिङ तथा ठेकेदार बीमामा सबैभन्दा ठूलो दाबी

बाढीबाट परेको बीमा दाबीको ठूलो हिस्सा इन्जिनियरिङ तथा ठेकेदार बीमाअन्तर्गत रहेको छ। यस क्षेत्रमा मात्रै २० अर्ब ५० करोड ७७ लाख रुपैयाँ बराबरको दाबी परेको नेपाल बीमा प्राधिकरणले जनाएको छ।

बाढीका कारण सञ्चालनमा रहेका तथा निर्माणाधीन गरी करिब एक दर्जन जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ। यससँगै बाढीले जनधनमा समेत व्यापक असर पारेको छ। सरकारी अधिकारीहरूको प्रारम्भिक अनुमानअनुसार करिब २ हजार घर डुबानमा परेका छन्।

प्राधिकरणका अनुसार सम्पत्ति बीमातर्फ २ अर्ब ३४ करोड र मोटर बीमातर्फ १ अर्ब ५५ करोड रुपैयाँ बराबरको दाबी परेको छ। त्यस्तै, परिवहन बीमाअन्तर्गत ८९ करोड ७७ लाख रुपैयाँ बराबरको दाबी परेको छ।

व्यवसायीहरूले रसुवागढी नाकामा मात्रै बाढीका कारण ७ सयभन्दा बढी नयाँ गाडी र २ सयभन्दा बढी कन्टेनर बगाएको बताएका छन्।

बाढीबाट ठूलो मानवीय क्षतिसमेत भएको छ। हालसम्म एक हजारभन्दा बढी मृतकको शव फेला परेको बताइएको छ भने अझै ठूलो संख्यामा मानिस बेपत्ता रहेको जनाइएको छ। स्वास्थ्य बीमातर्फ समेत अहिलेसम्म ४ करोड १६ लाख रुपैयाँ बराबरको दाबी परेको नेपाल बीमा प्राधिकरणले जनाएको छ।

नाफामा पर्न सक्छ दबाब

ठूला जलविद्युत् आयोजना तथा पूर्वाधारमा भएको क्षतिका कारण इन्जिनियरिङ तथा ठेकेदार बीमाअन्तर्गत मात्रै साढे २० अर्ब रुपैयाँभन्दा बढीको दाबी परेको छ। यस्तो ठूलो दाबीले बीमा कम्पनीहरूको अन्डरराइटिङ नाफामा दबाब सिर्जना गर्न सक्ने देखिन्छ।

विशेषगरी पुनर्बीमा कभरेज पर्याप्त नभएका वा ठूलो ‘रिटेन्सन’ आफैंले व्यहोर्नुपर्ने कम्पनीमा यसको प्रभाव तुलनात्मक रूपमा बढी पर्न सक्छ।

तर, ठूलो दाबी रकम देखिँदैमा त्यति नै रकमले कम्पनीको मुनाफा घट्छ भन्ने हुँदैन। बीमा कम्पनीहरूले जोखिमअनुसार पुनर्बीमा गराएका हुने भएकाले दाबीको ठूलो हिस्सा पुनर्बीमा कम्पनीबाट फिर्ता प्राप्त हुन सक्छ।

त्यसैले बाढीबाट परेको कुल दाबी र सम्बन्धित बीमा कम्पनीले वास्तविक रूपमा व्यहोर्नुपर्ने दायित्वबीच ठूलो अन्तर हुन सक्नेछ। अन्ततः कम्पनीको वास्तविक वित्तीय प्रभाव पुनर्बीमा संरचना, रिटेन्सन तथा दाबीको अन्तिम मूल्यांकनपछि मात्रै स्पष्ट हुनेछ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.