काठमाण्डौ । रसुवास्थित २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत दुई कर्मचारीको शव फेला परेको छ।
भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका उनीहरूको शव बिहीबार फेला परेको हो। आयोजना परीक्षण सञ्चालनको चरणमा रहेको थियो।
आयोजना निर्माण गरेको मल्टी इनर्जी डेभलपमेन्ट प्रालिका प्रवर्द्धक सुदीप आचार्यले दुई कर्मचारीको शव फेला परेको जानकारी प्राप्त भएको बताएका छन्।
उनका अनुसार आयोजनाको सुरुङ पूर्ण रूपमा बन्द अवस्थामा रहेकाले त्यसभित्र कर्मचारी फसेको अवस्था भने नरहेको बताइएको छ। बाढी आउनुअघि सुरुङ र पावरहाउसबीचको पेनस्टक पाइप क्षेत्रमा काम भइरहेको थियो।
आचार्यका अनुसार फेला परेका शव आयोजनाकै कर्मचारीका हुन्। यद्यपि उनीहरूको औपचारिक सनाखतलगायत प्रक्रिया पूरा हुन बाँकी छ।
लाङटाङ खोला जलविद्युत् आयोजनामा बाढीपछि ठूलो संख्यामा कर्मचारी तथा श्रमिक सम्पर्कविहीन भएका थिए। हालसम्म १९ जनाको उद्धार गरिएको छ भने अझै ३९ जना सम्पर्कविहीन रहेको जनाइएको छ।
भोटेकोशी बाढीले रसुवाका विभिन्न जलविद्युत् आयोजना तथा निर्माण क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुर्याएको छ। बाढी आएको एक साताभन्दा बढी समय बितिसक्दा पनि विभिन्न आयोजनामा कार्यरत श्रमिक तथा कर्मचारीको खोजी र अवस्था यकिन गर्ने काम जारी छ।
लाङटाङमा दुई कर्मचारीको शव फेला परेसँगै त्यहाँ अझै सम्पर्कविहीन रहेका व्यक्तिको खोजी थप चुनौतीपूर्ण बनेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।