बिहीबार, भाद्र १८,२०८३ 05:00:44
Bizshala
  • बिहीबार, भाद्र १८,२०८३ 05:00:44
Bizshala
Global IME Bank Limited

भोटेकोशी बाढीको दाबीले निर्जीवन बीमकको नाफा खुम्च्याउने सम्भावना, लाभांशमा लगानीकर्ताको चिन्ता

भोटेकोशी बाढीको दाबीले निर्जीवन बीमकको नाफा खुम्च्याउने सम्भावना, लाभांशमा लगानीकर्ताको चिन्ता
New Office

काठमाण्डौ । भदौ १० गते भोटेकोशी–त्रिशुली नदीमा आएको बाढीपहिरोले ठूलो जनधन तथा भौतिक क्षति पुर्याएपछि त्यसको प्रत्यक्ष असर निर्जीवन बीमा कम्पनीहरुमा देखिन थालेको छ । बाढीपहिरोबाट भएको क्षतिका कारण निर्जीवन बीमा कम्पनीहरुमा ठूलो रकम बराबरको बीमा दाबी परेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार भदौ १५ गतेसम्म विभिन्न निर्जीवन बीमा कम्पनीमा कुल २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार रुपैयाँ बराबरको प्रारम्भिक बीमा दाबी परेको छ । यो रकम ५८३ वटा दाबीबाट आएको हो । प्रारम्भिक दाबी भएकाले क्षतिको विस्तृत मूल्यांकनपछि वास्तविक दायित्व थपघट हुन सक्ने

ठूलो रकमको दाबी एकैपटक परेपछि निर्जीवन बीमा कम्पनीहरुको नाफा, नगद प्रवाह र आगामी लाभांश क्षमतामा दबाब पर्ने देखिएको छ । यद्यपि कम्पनीहरुले सबै दायित्व आफैंले व्यहोर्नुपर्ने भने हुँदैन । पुनर्बीमाको व्यवस्थाका कारण ठूलो हिस्सा पुनर्बीमा कम्पनीले व्यहोर्नेछ ।

बीमा कम्पनीहरुले जोखिम व्यवस्थापनका लागि पुनर्बीमा गर्ने भएकाले बाढीपहिरोबाट सिर्जित ठूलो दायित्वको हिस्सा पुनर्बीमा कम्पनीतर्फ हस्तान्तरण हुन्छ । औसत जोखिमलाई बाँडफाँड गरेर केही प्रतिशत दाबी रकम मात्रै निर्जीवन बीमाा कम्पनीले व्यहोर्नुपर्ने हुन्छ ।  

बीमा कम्पनीहरुले कुल दाबीको केही प्रतिशत मात्रै आफ्नो कोषबाट व्यहोर्नुपर्ने भए पनि ठूलो रकमको दाबीका कारण चालु आर्थिक वर्षको नाफामा उल्लेख्य दबाब पर्न सक्ने बीमा क्षेत्रका जानकारहरु बताउँछन् ।

नगद प्रवाह व्यवस्थापनमा चुनौती

बीमा कम्पनीहरुमा एकैपटक ठूलो संख्यामा दाबी आउँदा सबैभन्दा ठूलो चुनौती नगद प्रवाह व्यवस्थापनमा पर्न सक्छ । दाबी प्रमाणीकरण, सर्भे तथा क्षतिको मूल्यांकनपछि कम्पनीहरुले क्रमशः भुक्तानी गर्ने भए पनि ठूलो रकमको दायित्व सिर्जना हुँदा कम्पनीको तरलतामा दबाब पर्न सक्ने अवस्था रहन्छ ।

विशेषगरी ठूलो भौतिक क्षति भएका उद्योग, व्यवसाय तथा पूर्वाधारसँग सम्बन्धित दाबीको रकम उच्च हुने भएकाले यस्ता दाबीको भुक्तानीले कम्पनीको वित्तीय विवरणमा प्रत्यक्ष प्रभाव पार्न सक्छ ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

नाफा घट्दा लाभांशमा पनि असर

बाढीपहिरोपछि निर्जीवन बीमा कम्पनीहरुको सेयर मूल्यमा समेत दबाब देखिन थालेको छ । ठूलो रकमको दाबी भुक्तानी गर्नुपर्ने भएपछि चालु आर्थिक वर्षमा कम्पनीहरुको नाफा घट्ने र त्यसको प्रत्यक्ष असर लगानीकर्ताले पाउने प्रतिफलमा पर्ने अनुमान गरिएको छ ।

लगानीकर्ताहरुले निर्जीवन बीमा कम्पनीहरुको आगामी लाभांश क्षमतामाथि समेत प्रश्न उठाउन थालेका छन् । दाबी भुक्तानीका कारण नाफा घटेमा कम्पनीहरुले विगतका वर्षको तुलनामा कम लाभांश दिनुपर्ने वा केही कम्पनीले लाभांश वितरण गर्न नसक्ने अवस्था आउन सक्नेछ ।

तर सबै दाबी एकैपटक भुक्तानी नहुने र पुनर्बीमा कम्पनी तथा अन्य पुनर्बीमकबाट प्राप्त हुने रकमका कारण कम्पनीहरुको सम्पूर्ण नाफा नै समाप्त हुने अवस्था भने नआउने जानकारहरुको भनाइ छ ।

बीमा विज्ञका अनुसार बीमा कम्पनीहरुलाई एकपछि एक गर्दै ठूलो दायित्व थपिदै जाँदा कम्पनीको ब्यालेन्स्ड सिटमै प्रभाव पार्न सक्नेछ ।  

‘बीमाको मेकानिजम भनेको एक अर्बको क्षति भयो भने शतप्रतिशत नै भुक्तानी गर्न सक्दैन, बीमकले जति दिँदा आफू सर्भाइभ हुन सक्छ, त्यति मात्रै भुक्तानी गर्छ,’ एक विज्ञले भने, ‘बीमकहरुले पुनर्बीमा नै गरे पनि पुनर्बीमाबाट रकम तत्कालै प्राप्त हुने अवस्था सधैं हुँदैन । यसले बीमा कम्पनीहरुको नाफामा ठूलो असर पार्न सक्छ ।’  

उनका अनुसार ठूलो प्राकृतिक विपत्तिबाट सिर्जित दायित्व व्यवस्थापन बीमा क्षेत्रका लागि दीर्घकालीन चुनौती बन्न सक्छ ।  

सेयर लगानीकर्ताहरुले पनि निर्जीवन बीमा कम्पनीको दायित्व बढ्दै जाँदा नाफामा प्रभाव परी लाभांश क्षमता घट्न सक्ने बताएका छन् । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बीमा कम्पनीहरुले जोखिम बहन गर्नका लागि पुनर्बीमा गरे पनि शतप्रतिशत कभर नहुने र केही प्रतिशत बीमा कम्पनीहरुले आफ्नै कोषबाट भुक्तानी दिनुपर्ने हुँदा नाफामा संकुचन आउने बताए ।  

‘कम्पनीहरुले सबै दाबीको भुक्तानी एकैपटक दिने होइन । थोरै–थोरै रकम भुक्तानी दिँदा नाफामा संकुचन आई लगानीकर्तालाई दिने प्रतिफल पक्कै घट्न सक्छ वा केही वर्षका लागि नदिने अवस्था पनि आउन सक्छ’ उनले भने ।  

तर बीमा कम्पनीहरुले दाबी भुक्तानी गर्दैमा उनीहरुको वित्तीय अवस्था अत्यन्तै कमजोर हुने वा लाभांश नै दिन नसक्ने अवस्था अनिवार्य रूपमा नआउने ढकालको भनाइ छ ।

लगानीकर्ताले के हेर्ने ?

बाढीपहिरोपछि निर्जीवन बीमा कम्पनीको सेयरमा लगानी गर्ने लगानीकर्ताका लागि आगामी वित्तीय विवरण महत्वपूर्ण हुने देखिएको छ । विशेषगरी कम्पनीअनुसार परेको दाबी, पुनर्बीमाबाट प्राप्त हुने रकम, कम्पनीले आफैंले व्यहोर्नुपर्ने नेट दायित्व, दाबी भुक्तानीको गति र नाफामा परेको असर महत्वपूर्ण सूचक बन्नेछन् ।

ठूलो दाबी परेको भन्दै सबै निर्जीवन बीमा कम्पनीको वित्तीय अवस्था समान रूपमा प्रभावित हुन्छ भन्ने हुँदैन । कम्पनीको पुनर्बीमा संरचना, जोखिमको प्रकृति, आफ्नै कोषको अवस्था र विगतमा संचित नाफाले पनि दाबी व्यवस्थापन गर्ने क्षमता निर्धारण गर्नेछ ।

यसकारण भोटेकोशी–त्रिशुली बाढीपहिरोको वास्तविक वित्तीय असर निर्जीवन बीमा कम्पनीहरुको आगामी त्रैमासिक तथा वार्षिक वित्तीय विवरण सार्वजनिक भएपछि थप स्पष्ट हुने देखिन्छ ।

बीमा प्राधिकरणका अनुसार भदौ १५ गतेसम्ममा सबैभन्दा बढी बीमा दाबी आरियन्टल इन्स्योरेन्समा १३ अर्ब ४ करोड रुपैयाँ बराबरको परेको छ ।  

त्यस्तै, युनाइटेड अजोडमा ४ अर्ब ९७ करोड, सानिमा जिआइसीमा २ अर्ब १० करोड, सिद्धार्थ प्रिमियरमा १ अर्ब ८८ करोड, शिखरमा १ अर्ब ८७ करोड, हिमालयन एभरेष्टमा ६४ करोड, नेकोमा ५१ करोड, सलिकोमा २४ करोड, नेपाल इन्स्योरेन्समा २३ करोड, आइजीआई प्रुडेन्सियलमा १८ करोड, एनएलजीको ११ करोड, प्रभु इन्स्योरेन्समा ३ करोड, राष्ट्रिय बीमा कम्पनीमा ७६ लाख, नेशनल इन्स्योरेन्समा ५३ लाख र नेपाल माइक्रो इन्स्योरेन्समा ५ लाख रुपैयाँ बराबरको दाबी परेको छ । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.