काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले दुई वित्तीय संस्थालाई प्राप्ति (एक्विजिशन) गर्ने प्रक्रिया अघि बढाएको छ। बैंकले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेको जनाएको छ।
बैंकको सञ्चालक समितिको गत भदौ १९ गते बिहान ११ बजे बसेको ३८५औँ बैठकले गरेको निर्णयअनुसार जानकी फाइनान्स कम्पनी र सिन्धु विकास बैंकलाई प्राप्ति गर्ने प्रक्रिया अघि बढाइएको हो।
सोही निर्णयअनुसार भदौ १९ गते दुवै संस्थालाई प्राप्ति गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ।
सम्झौतामा तीनवटै संस्थाका तर्फबाट सम्बन्धित प्रतिनिधिहरूले हस्ताक्षर गरेका हुन्। वित्तीय क्षेत्रको सुदृढीकरण, संस्थागत क्षमता अभिवृद्धि, व्यवसाय विस्तार तथा ग्राहकलाई थप प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले प्रस्तावित प्राप्ति प्रक्रिया अघि बढाइएको जनाइएको छ।
प्रारम्भिक सम्झौताअनुसार प्रस्तावित प्राप्तिसम्बन्धी आवश्यक विस्तृत अध्ययन तथा मूल्यांकन गरिनेछ। साथै, सम्पत्ति तथा दायित्वको यथार्थ परीक्षण, ;]यर आदान–प्रदानसम्बन्धी व्यवस्था तथा अन्य आवश्यक प्रक्रिया अघि बढाइनेछ।
प्रस्तावित प्राप्ति प्रक्रिया नेपाल राष्ट्र बैंक तथा प्रचलित कानुनबमोजिम आवश्यक स्वीकृति र नियामकीय प्रक्रिया पूरा भएपछि मात्र अन्तिम रूपमा कार्यान्वयनमा आउनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।