काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष प्याकेज ल्याउने संकेत गरेपछि लामो समयदेखि निराश बनेका सेयर लगानीकर्ताको मनोबलमा सुधार देखिन थालेको छ।
बजार सुधार र नीतिगत स्थायित्वको प्रतीक्षामा रहेका लगानीकर्ताले अर्थमन्त्रीको पछिल्लो अभिव्यक्तिलाई सकारात्मक रूपमा लिएका छन्। त्यसको प्रभाव सोमबारको बजारसँगै काठमाण्डौका ब्रोकर हाउसहरूमा पनि देखियो। बजारमा हरियाली छाउँदा लगानीकर्ताको उपस्थिति र सक्रियता बढेको थियो।
यद्यपि, बजारको वृद्धिलाई कारोबार रकमले बलियो साथ नदिँदा लगानीकर्तामा पूर्ण विश्वास भने फर्किन सकेको देखिएन। अर्थमन्त्रीको घोषणाले तत्काल उत्साह भरे पनि सुधारका कार्यक्रम कार्यान्वयन नभएसम्म बजारको उकालो दिगो हुनेमा उनीहरू सशंकित देखिए।
लाभांश घोषणाको सिजन सुरु भएकाले लगानीकर्ताको ध्यान मूल्यवृद्धिभन्दा बढी प्रतिफल दिनसक्ने कम्पनीतर्फ मोडिएको छ। वाणिज्य बैंक, विकास बैंक र लघुवित्त कम्पनीको लाभांश क्षमता तथा आधारभूत वित्तीय अवस्था अहिले ब्रोकर हाउसका मुख्य छलफलका विषय बनेका छन्।
बिजशालाको नियमित स्तम्भ ‘ग्राउन्ड जिरो’अन्तर्गत सोमबार काठमाण्डौको अनामनगर क्षेत्रका विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताको मनोविज्ञान बुझ्ने प्रयास गरिएको थियो।
लाभांश दिने कम्पनी खोज्दै लगानीकर्ता
सबैभन्दा पहिले हामी अनामनगरस्थित आर्यतारा इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज (ब्रोकर नं. ५७)मा पुग्यौँ। बजार खुलेको केही समयमै नेप्से परिसूचक उकालो लागिसकेको थियो। कारोबार स्क्रिनमा हरियाली फैलिँदै गर्दा ब्रोकर हाउसमा लगानीकर्ताको उपस्थिति पनि बाक्लिएको थियो।
त्यहाँ उपस्थित लगानीकर्ताहरू लाभांश घोषणा गरेका वा राम्रो लाभांश दिनसक्ने सम्भावना भएका कम्पनीबारे छलफल गरिरहेका थिए।
एक लगानीकर्ताले भक्तपुरबाट दैनिक ब्रोकर हाउस धाउने अर्का लगानीकर्तालाई सोधे, ‘तपाईं भक्तपुरदेखि दिनहुँ यहाँ आउनुहुन्छ, अल्छी लाग्दैन ?’
उनले हाँस्दै जवाफ दिए, ‘दिनभरि घरमा बसेर के गर्नु? बजार घटे पनि बढे पनि ब्रोकरसम्म आएपछि साथीभाइ भेटिन्छन्। बजारका विषयमा केही न केही नयाँ जानकारी पनि पाइन्छ।’
अर्का एक लगानीकर्ताको ध्यान भने जलविद्युत् कम्पनीतर्फ थियो। धेरै दिनपछि जलविद्युत् समूहमा सुधार देखिँदा उनी केही उत्साहित भए पनि पहिलो त्रैमासिक वित्तीय विवरणलाई लिएर चिन्तित देखिए।
‘आज बल्लतल्ल हाइड्रो पनि बढेको छ,’ उनले भने, ‘तर बाढीपहिरोले धेरै आयोजना प्रभावित भएकाले पहिलो त्रैमासिक प्रतिवेदन राम्रो आउने सम्भावना कम छ।’
केही समयपछि छलफल लाभांश घोषणा गरेका बैंक तथा वित्तीय संस्थातर्फ मोडियो।
‘बजारबाट तत्काल अपेक्षित पूँजीगत लाभ पाउन सकिएको छैन। अब लाभांशबाट भए पनि लगानीको प्रतिफल उठाउनुपर्छ,’ एक लगानीकर्ताले भने, ‘नबिल बैंक, ग्लोबल आइएमई बैंक र गरिमा विकास बैंकले राम्रो प्रतिफल प्रस्ताव गरेका छन्। अरू बैंकबाट पनि राम्रै लाभांश आउने अपेक्षा छ।’
उनको भनाइमा सहमति जनाउँदै अर्का लगानीकर्ताले यसपटक विकास बैंकहरूको वित्तीय विवरण र लाभांश क्षमता तुलनात्मक रूपमा राम्रो देखिएको बताए।
‘राम्रो आधारभूत अवस्था भएका विकास बैंक छानेर लगानी गर्दा फाइदा हुनसक्छ,’ उनले भने, ‘तर कम्पनीको वित्तीय स्वास्थ्य नहेरी लाभांशकै पछि लाग्नुचाहिँ जोखिमपूर्ण हुन्छ।’
पछिल्लो पङ्क्तिमा बसेका केही लगानीकर्ता मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई प्राप्ति गर्ने प्रारम्भिक सम्झौताका विषयमा छलफल गरिरहेका थिए।
एक लगानीकर्ताले भने, ‘मुक्तिनाथ विकास बैंक पहिलेदेखि नै विकास बैंकमध्ये ठूलो संस्था हो। सिन्धु र जानकीलाई प्राप्ति गरेपछि यसको आकार अझै बढ्ने भयो। तर स्वाप अनुपातको आशंकाले सिन्धु र जानकीको सेयरमूल्यमा दबाब पर्नसक्छ।’
बजारभरि हरियाली, लगानीकर्तालाई कारोबार रकमकै चिन्ता
त्यसपछि हामी अनामनगरमै रहेको दीपशिखा धितोपत्र कारोबार कम्पनीमा पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति बाक्लो थियो। महिला लगानीकर्ताको सहभागिता तुलनात्मक रूपमा बढी देखिन्थ्यो।
कारोबार स्क्रिनतर्फ हेर्दै एक महिला लगानीकर्ताले भनिन्, ‘आज त बजार पूरै हरियो छ। रातो भएको कम्पनी खोज्नुपर्ने अवस्था पनि आउँदो रहेछ!’
उनीसँगै बसेकी अर्की लगानीकर्ताले भने बजार बढे पनि आफ्नो लगानी अझै नउठेको गुनासो गरिन्। अगाडिपट्टि बसेकी अर्की लगानीकर्ताले उनलाई धैर्य गर्न र हतारमा निर्णय नलिन सुझाव दिइन्।
बजारको हरियालीले अधिकांश लगानीकर्ताको अनुहारमा उत्साह देखिए पनि केहीको ध्यान कमजोर कारोबार रकममा थियो।
‘बल्लतल्ल बजार राम्ररी बढेको छ, तर कारोबार रकम नै बलियो छैन,’ एक लगानीकर्ताले भने, ‘भोल्युम नबढेसम्म बजारको वृद्धि दिगो हुन्छ भनेर विश्वास गर्न गाह्रो छ। लाभांशको सिजन भएकाले कारोबार रकम पनि त्यहीअनुसार बढ्नुपर्ने हो।’
अर्का लगानीकर्ताले लघुवित्त कम्पनीहरूको लाभांश क्षमता राम्रो भए पनि नेपाल राष्ट्र बैंकको नीतिका कारण उनीहरूले क्षमताअनुसार प्रतिफल वितरण गर्न नसकेको बताए।
‘कम्पनीहरूले धमाधम लाभांश घोषणा गरिरहेका छन् र केहीको प्रतिफल राम्रै छ,’ उनले भने, ‘लघुवित्तहरूको लाभांश क्षमता अझ राम्रो देखिन्छ। तर राष्ट्र बैंकको नीतिगत कडाइका कारण उनीहरूले चाहेजति लाभांश दिन पाइरहेका छैनन्।’
त्यही बेला ब्रोकर हाउसमा प्रवेश गरेका अर्का लगानीकर्ताले हरियो स्क्रिन हेर्दै ठट्यौली शैलीमा भने, ‘के हो साथीहरू, आज त गोरुले घाँस खाएछ क्यारे, सबैतिर हरियो छ!’
उनले बजारको वृद्धिप्रति आशंका व्यक्त गर्दै थपे, ‘हिजो अर्थमन्त्रीले पूँजीबजार सुधारको प्याकेज ल्याउने भनेकाले बजार बढेको हो कि ? तर घोषणा मात्रै हो भने यो वृद्धि एक–दुई दिनभन्दा बढी टिक्न गाह्रो छ।’
अर्थमन्त्रीको संकेतले उत्साह, कार्यान्वयनमा आशंका
इम्पेरियल सेक्युरिटिज (ब्रोकर नं. ४५)मा पनि अर्थमन्त्री डा. वाग्लेले ल्याउने भनिएको पूँजीबजार सुधार प्याकेजकै चर्चा थियो। लगानीकर्ताहरूले अर्थमन्त्रीको अभिव्यक्तिसँगै नेपाल धितोपत्र बोर्डको नेतृत्व र प्रस्तावित नीतिगत सुधारमाथि बहस गरिरहेका थिए।
‘अर्थमन्त्रीले पूँजीबजार सुधारको प्याकेज ल्याउने भन्नुभएको छ। आज बजार बढ्नुमा त्यसको प्रभाव पनि हुनसक्छ,’ एक लगानीकर्ताले भने, ‘तर घोषणा कार्यान्वयन नभएसम्म ढुक्क हुने अवस्था छैन। लगानीकर्ता अझै बजारमा ठूलो रकम लगाउन अन्योलमै छन्।’
उनले धितोपत्र बोर्डले नीतिगत सुधारका विषय उठाए पनि ती समयमै कार्यान्वयन हुनेमा विश्वस्त हुने आधार नबनेको बताए।
अर्का लगानीकर्ताले लाभांशको सिजनले बजारलाई केही समय सकारात्मक ऊर्जा दिनसक्ने विश्लेषण गरे।
‘अहिले राम्रो वित्तीय अवस्था भएका बैंक, विकास बैंक र लघुवित्त छनोट गरेर लगानी गर्ने समय हुनसक्छ,’ उनले भने, ‘बजारबाट तत्काल ठूलो पूँजीगत लाभ नआए पनि लाभांशबाट प्रतिफल लिन सकिन्छ। तर लगानीकर्ताले कम्पनीको वित्तीय अवस्था हेर्नैपर्छ।’
अगाडि बसेका अर्का लगानीकर्ता भने एकैपटक धेरै कम्पनीको सेयर नकिन्न सुझाव दिइरहेका थिए।
‘धेरै कम्पनीको सेयर थुपार्नुभन्दा पाँच-छवटा बलिया कम्पनी छान्नुहोस्,’ उनले भने, ‘लाभांशकै उद्देश्यले लगानी गर्ने हो भने पनि कम्पनीको नाफा, वितरणयोग्य मुनाफा, खराब कर्जा, सञ्चिति र विगतको लाभांश इतिहास हेरेर मात्रै निर्णय गर्नुपर्छ।’
मनोबल फर्किँदै, भरोसाको परीक्षा बाँकी
सोमबारको ‘ग्राउन्ड जिरो’मा देखिएको दृश्यले लगानीकर्ताको मनोबल विस्तारै फर्किन थालेको संकेत गर्छ। अर्थमन्त्रीबाट आएको सुधार प्याकेजको आश्वासन, लाभांश घोषणाको सिजन र आधारभूत रूपमा बलिया कम्पनीको खोजीले ब्रोकर हाउसहरूमा चहलपहल बढाएको छ।
तर बजारको हरियालीसँगै कारोबार रकम बलियो नदेखिनु, नीतिगत घोषणाको कार्यान्वयनमा विगतदेखि देखिएको कमजोरी र लगानीकर्तामा बाँकी रहेको आशंकाले उत्साह अझै सावधानीको घेराभित्रै रहेको देखाउँछ।
अहिले बजारले भाषणभन्दा ठोस निर्णय खोजिरहेको छ। अर्थमन्त्रीले संकेत गरेको सुधार प्याकेज समयमै आयो र प्रभावकारी रूपमा कार्यान्वयन भयो भने लगानीकर्ताको अहिले देखिएको झिनो आत्मविश्वास बलियो भरोसामा बदलिन सक्छ। अन्यथा, सोमबारको हरियाली पनि लगानीकर्ताकै भाषामा ‘एक-दुई दिनको उत्साह’मा सीमित हुनसक्छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।