Bizshala
  • बुधबार, भाद्र २४,२०८३ 11:49:29
Bizshala
Global IME Bank Limited

२४ भदौलाई सम्झिँदै ओली– राज्य र अर्थतन्त्रको मेरुदण्डमाथि कहालीलाग्दो विध्वंस भएको दिन

२४ भदौलाई सम्झिँदै ओली– राज्य र अर्थतन्त्रको मेरुदण्डमाथि कहालीलाग्दो विध्वंस भएको दिन
New Office

 

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्षको भदौ २४ गतेलाई नेपालको राज्य संरचना, लोकतान्त्रिक संस्थाहरू र राष्ट्रिय अर्थतन्त्रका लागि ‘कहालीलाग्दो विध्वंस’ भएको दिनका रूपमा स्मरण गरेका छन्।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा भिडियो सन्देश जारी गर्दै ओलीले उक्त घटनाले देशका महत्वपूर्ण राज्य संरचना, सार्वजनिक तथा निजी सम्पत्ति र व्यावसायिक क्षेत्रमा गम्भीर क्षति पुर्‍याएको बताएका हुन्।

‘गत वर्ष आजकै दिन राज्यका आधारस्तम्भ, लोकतन्त्रका धरोहर र राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डमाथि सर्वाधिक ठूलो आक्रमण र विध्वंस भएको थियो,’ ओलीले सन्देशमा भनेका छन्।

गत वर्ष भदौ २३ गते सुरु भएको जेनजी आन्दोलनको क्रममा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै उनले ज्यान गुमाएका युवाहरू तथा कर्तव्यपालनका क्रममा मृत्यु भएका प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

उनले भनेका छन्, ‘सबैभन्दा पहिले गत वर्ष भदौ २३ गतेको प्रदर्शनपछिको घटनाक्रममा जीवन गुमाउनुहुने नवयुवाहरू र कर्तव्यपालनका क्रममा आपराधिक तत्वहरूको आक्रमणमा मारिनुभएका प्रहरी जवानहरूप्रति नेकपा एमाले र मेरो व्यक्तिगत तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।’

उक्त घटनामा घाइते भएर अझै उपचाररत रहेकाहरूको पूर्ण स्वास्थ्यलाभको कामना गर्दै ओलीले विध्वंसबाट प्रभावित व्यवसायी तथा अन्य नागरिकको पुनरुत्थान प्रयासप्रति समेत शुभेच्छा व्यक्त गरेका छन्।

उनले भनेका छन्, ‘त्यस कहालीलाग्दो विध्वंसपछि पुनरुत्थानको प्रयासमा रहनुभएका व्यवसायी एवं महानुभावहरूमा शुभेच्छा व्यक्त गर्दछु।’

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

‘शान्तिपूर्ण आन्दोलनभित्र घुसपैठ भयो’

ओलीले लोकतन्त्रमा नागरिकले आफ्ना असन्तुष्टि, अपेक्षा र माग शान्तिपूर्ण रूपमा अभिव्यक्त गर्नु स्वाभाविक र संवैधानिक अधिकार भएको उल्लेख गरेका छन्। तर गत वर्ष युवाहरूले सुशासन र सामाजिक सञ्जालसम्बन्धी विषय उठाएर गरेको प्रदर्शनलाई आपराधिक समूहले हिंसात्मक बनाएको उनको दाबी छ।

‘गत वर्ष नवयुवाहरूले सुशासन र सामाजिक सञ्जालका विषयमा गरेको शान्तिपूर्ण प्रदर्शनभित्र घुसपैठ गरी आपराधिक समूहहरूले योजनाबद्ध रूपमा हिंसा भड्काए,’ ओलीले भनेका छन्।

उनले संसद् भवनमाथि आक्रमणको वातावरण तयार गरिएको र प्रदर्शनकारी युवाहरूलाई संसद् भवनअगाडि पुर्‍याएर परिस्थितिलाई योजनाबद्ध रूपमा हिंसात्मक बनाइएको आरोपसमेत लगाएका छन्।

ओलीका अनुसार त्यस क्रममा १७ जनाले ज्यान गुमाएका थिए।

उनले उक्त घटनामा गोली कसले र किन चलायो भन्ने विषयसमेत गम्भीर छानबिनको विषय रहेको संकेत गर्दै ‘छद्म ढंगले कसैले गोली चलाएको’ दाबी गरेका छन्।

‘२४ भदौको विध्वंस आवेग मात्रै थिएन’

अध्यक्ष ओलीले भदौ २३ गते भएको मानवीय क्षतिको प्रतिक्रिया स्वरूप मात्र भोलिपल्टको व्यापक हिंसा र आगजनी भएको मान्न नसकिने बताएका छन्।

उनका अनुसार भदौ २४ गते राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय तथा विभिन्न सार्वजनिक र निजी सम्पत्तिमाथि भएको तोडफोड, लुटपाट र आगजनीको प्रकृति हेर्दा त्यो तत्कालीन आवेगभन्दा फरक प्रकृतिको घटना थियो।

‘भोलिपल्ट राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, पार्टी कार्यालयहरू र निजी–सार्वजनिक सम्पत्तिलगायतमाथि जुन स्तरको तोडफोड, लुटपाट, आगजनी र मानवीय क्षति गरियो, त्यो अघिल्लो दिनको मानवीय क्षतिको आवेग मात्र थिएन,’ ओलीले भनेका छन्।

उनले शान्तिपूर्ण प्रदर्शनलाई आफ्नो उद्देश्यअनुसार प्रयोग गर्ने समूह सक्रिय रहेको दाबी गर्दै भदौ २४ को घटनालाई योजनाबद्ध विध्वंसका रूपमा व्याख्या गरेका छन्।

जेनजी आन्दोलनको एक वर्ष पूरा भएको सन्दर्भमा ओलीको यो अभिव्यक्तिले गत वर्षको आन्दोलन, त्यसक्रममा भएको मानवीय क्षति तथा राज्य र निजी सम्पत्तिमाथिको आक्रमणबारे पुनः राजनीतिक बहस सुरु हुने देखिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.