काठमाण्डौ । सिंगापुरका प्रधानमन्त्री लरेन्स वङको वार्षिक पारिश्रमिक प्याकेज ६४ प्रतिशतले बढ्ने भएको छ। यससँगै उनी विश्वकै सबैभन्दा बढी पारिश्रमिक पाउने निर्वाचित राजनीतिक नेताका रूपमा अन्य विश्व नेताभन्दा अझ अगाडि रहने भएका छन्।
प्रधानमन्त्री वङले मंगलबार संसद्मा मन्त्री तथा राजनीतिक पदाधिकारीको पारिश्रमिक १५ वर्षपछि समायोजन गर्न लागिएको जानकारी दिएका हुन्। संशोधित व्यवस्थाअनुसार उनको वार्षिक पारिश्रमिक प्याकेज हालको २२ लाख सिंगापुर डलरबाट बढेर ३६ लाख सिंगापुर डलर पुग्नेछ। यो रकम करिब २८ लाख ५० हजार अमेरिकी डलर बराबर हुन्छ।
नयाँ पारिश्रमिकमा निश्चित तथा परिवर्तनीय दुवै किसिमका रकम समावेश छन्। वङले आफू प्रधानमन्त्री रहिरहेमा तलब वृद्धिबाट प्राप्त हुने अतिरिक्त रकम पाँच वर्षसम्म परोपकारी संस्थालाई दान गर्ने प्रतिबद्धता जनाएका छन्।
नयाँ पारिश्रमिक प्याकेज स्विट्जरल्यान्डका राष्ट्रपतिको पारिश्रमिकभन्दा चार गुणाभन्दा बढी र अमेरिकी राष्ट्रपतिले पाउने वार्षिक ४ लाख अमेरिकी डलरभन्दा करिब सात गुणा बढी हुनेछ।
अमेरिकी डलरमा गरिएको तुलनाअनुसार वङको नयाँ पारिश्रमिक प्याकेज अमेरिका, स्विट्जरल्यान्ड, अस्ट्रेलिया, क्यानडा, दक्षिण कोरिया र न्युजिल्यान्डका नेताहरूको कानुनी रूपमा तोकिएको पारिश्रमिक जोड्दा आउने रकमभन्दा समेत बढी हुने जनाइएको छ। यद्यपि, केही देशमा बोनस तथा अन्य सुविधा छुट्टै हुने भएकाले प्रत्यक्ष तुलना पूर्ण रूपमा समान भने छैन।
सिंगापुरमा राजनीतिक पदाधिकारीको पारिश्रमिक निजी क्षेत्रको आम्दानीसँग जोडिएको छ। सार्वजनिक सेवा विभागका अनुसार प्रवेश तहका मन्त्रीका लागि ःच्द्ध ग्रेडको पारिश्रमिक सिंगापुरका सबैभन्दा बढी आम्दानी गर्ने १ हजार नागरिकको औसत आम्दानीका आधारमा निर्धारण हुन्छ। सार्वजनिक सेवाको भावनालाई प्रतिबिम्बित गर्न उक्त रकममा ४० प्रतिशत कटौती गरिन्छ।
नयाँ व्यवस्थाअनुसार एमआर४ ग्रेडको पारिश्रमिक करिब ११ लाख अमेरिकी डलरबाट बढेर १८ लाख डलर पुग्नेछ। प्रधानमन्त्रीले एमआर४ ग्रेडको दोब्बर पारिश्रमिक पाउने व्यवस्था छ।
सिंगापुर सरकारले प्रतिस्पर्धी पारिश्रमिकले निजी क्षेत्र, वित्त तथा अन्य उच्च पारिश्रमिक भएका क्षेत्रमा जान सक्ने दक्ष व्यक्तिलाई राजनीतिमा आकर्षित गर्न सहयोग पुग्ने दाबी गर्दै आएको छ। सरकारले आफ्नो पारिश्रमिक प्रणालीलाई ‘क्लिन वेज’ मोडलका रूपमा व्याख्या गर्दै आएको छ, जसमा लुकेका व्यक्तिगत सुविधा वा अन्य पारिश्रमिक शीर्षक नरहने बताइएको छ।
एमआर ४ ग्रेडको आधारभूत पारिश्रमिक बढे पनि सबै मन्त्रीको तलब तत्काल सोही अनुपातमा बढ्ने छैन। प्रधानमन्त्री वङका अनुसार हाल कार्यरत राजनीतिक पदाधिकारीले आगामी अक्टोबर १५ देखि अधिकतम ९ प्रतिशतसम्म एकपटकको समायोजन पाउनेछन्।
समायोजनको दर पदाधिकारीको कार्यसम्पादन तथा पछिल्लो पटक पारिश्रमिक समायोजन भएको समयलगायतका आधारमा निर्धारण गरिनेछ। उदाहरणका लागि हाल ११ लाख सिंगापुर डलर पारिश्रमिक पाइरहेका कुनै मन्त्रीले तत्काल १८ लाख डलर नपाई करिब १२ लाख सिंगापुर डलरको वार्षिक पारिश्रमिक पाउन सक्नेछन्।
त्यसपछि हुने पारिश्रमिक समायोजन भने सम्बन्धित पदाधिकारीको कार्यसम्पादन र जिम्मेवारीका आधारमा निर्धारण हुने वङले संसद्मा बताएका छन्।
पारिश्रमिक वृद्धिबारे वङले राजनीतिक पारिश्रमिक संवेदनशील र भावनात्मक विषय भएको स्वीकार गर्दै नागरिकले यसबारे चासो राख्नु स्वाभाविक रहेको बताएका छन्। उनले राजनीतिक रूपमा कठिन भए पनि पारिश्रमिक प्रणालीलाई पारदर्शी र खुला राख्नबाट सरकार पछि हट्न नहुनेमा जोड दिएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।