काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको आर्थिक अवस्था, लगानीको वातावरण र निजी क्षेत्रले भोगिरहेका समस्याबारे प्रमुख उद्योगी तथा व्यवसायीसँग छलफल सुरु गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्रप्रसाद ढकाल सहभागी छन्।
छलफलमा पछिल्लो आर्थिक अवस्था, उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले सामना गरिरहेका समस्या, लगानी विस्तारमा देखिएका अवरोध तथा रोजगारी सिर्जनाका सम्भावनाबारे कुराकानी भइरहेको बताइएको छ।
विशेषगरी पछिल्लो समय सुस्त देखिएको आर्थिक गतिविधिलाई कसरी चलायमान बनाउने, निजी लगानीलाई प्रोत्साहन गर्ने र उद्योग–व्यवसाय विस्तारका लागि अनुकूल वातावरण कसरी निर्माण गर्ने भन्ने विषयलाई प्राथमिकतामा राखिएको छ।
सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्ने विषय पनि छलफलको मुख्य एजेन्डामा छ।
सरकारले निजी क्षेत्रको विश्वास बढाउने, लगानीका लागि नीतिगत तथा प्रशासनिक अवरोध कम गर्ने र उत्पादन तथा रोजगारी विस्तारलाई गति दिने उपायबारे उद्योगी–व्यवसायीका सुझाव लिन लागेको हो।
अर्थतन्त्रमा अपेक्षित गति नआइरहेको अवस्थामा प्रधानमन्त्री शाहले देशका ठूला उद्योगी तथा व्यवसायीसँग गरेको यो छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ।
छलफलबाट निजी क्षेत्रका तत्कालीन समस्या समाधान, लगानी प्रवर्द्धन र आर्थिक गतिविधि विस्तारका लागि सरकारबाट थप नीतिगत पहल आउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।