काठमाण्डौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाए चाडपर्वका बेला सार्वजनिक यातायातको भाडा पनि नबढ्ने बताएका छन्।
यातायात व्यवस्था विभागले चाडपर्व लक्षित यातायात व्यवस्थापनबारे आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै सिटौलाले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि सरकारले कम्तीमा चाडपर्वको अवधिमा मूल्यवृद्धिको भार उपभोक्तामाथि नथोपर्न आग्रह गरे।
उनले पेट्रोलियम पदार्थको मूल्य यथावत् रहेमा सरकारले तोकेको सार्वजनिक यातायात भाडादर नै कायम रहने स्पष्ट पारे।
‘पेट्रोलियम पदार्थको कुनै पनि किसिमको मूल्यवृद्धि भएन भने तोकिएअनुसारकै भाडा कायम रहन्छ,’ उनले भने, ‘सरकारले पेट्रोलियम पदार्थको मूल्य बढायो भने बाध्य भएर भाडा बढाउनुपर्ने हुन्छ। नत्र तोकिएको भन्दा बढी भाडा लिइँदैन।’
सिटौलाले राज्यले पेट्रोलियम पदार्थमा केही अतिरिक्त भार व्यहोर्नुपरे पनि कम्तीमा एक महिनासम्म मूल्य नबढाउन सरकारसँग आग्रह गरे।
उनले चाडपर्वका बेला यात्रुबाट तोकिएकोभन्दा बढी भाडा असुल्ने अवस्था आउन नदिन आधिकारिक टिकट काउन्टर र सम्बन्धित व्यक्तिको नियमित अनुगमन गर्नुपर्ने बताए।
बस, मिनीबस, माइक्रोबसलगायत सार्वजनिक सवारीसाधनको वर्गअनुसार सरकारले निर्धारण गरेको भाडादर नै लागू हुनुपर्नेमा जोड दिँदै उनले यात्रुलाई आधिकारिक टिकट काउन्टरबाट मात्र टिकट लिन आग्रह गरे।
अनलाइन टिकटिङ कार्यविधि तत्काल लागू गर्न माग
सिटौलाले अनलाइन टिकटिङ तथा प्रविधिमैत्री यातायात प्रणाली कार्यान्वयनमा सरकारी निकायबाट ढिलाइ भइरहेको आरोपसमेत लगाए।
अनलाइन टिकटिङसम्बन्धी कार्यविधि स्वीकृत भएर यातायात व्यवस्था विभागमा पुगे पनि कार्यान्वयन हुन नसकेको उनको भनाइ छ।
उनले तत्काल उक्त कार्यविधि कार्यान्वयन गर्न माग गर्दै प्रविधिको प्रयोगमार्फत टिकटिङ प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन यातायात व्यवसायी तयार रहेको बताए।
असोज १५ भित्र अग्रिम टिकट बुकिङको मिति घोषणा
चाडपर्वका लागि अग्रिम टिकट बुकिङ खोल्ने मिति तय गर्न हतार गर्नुपर्ने अवस्था नरहेको सिटौलाले बताए।
आवश्यक तयारी पूरा गरेर असोज १५ भित्र अग्रिम टिकट बुकिङ खोल्ने मिति घोषणा गरिने उनको भनाइ छ।
चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले भाडादर, टिकट वितरण, अनुगमन र सवारी व्यवस्थापनलाई व्यवस्थित गर्न सरकार र यातायात व्यवसायीबीच समन्वय आवश्यक रहेको उनले बताए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।