काठमाण्डौ । नेपालका बाढी प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माण प्रयासमा सहयोग पुर्याउने उद्देश्यले Uber ले ‘Ride for Nepal’ अभियान सुरु गरेको छ।
सेप्टेम्बर २१ देखि अक्टोबर २०, २०२६ सम्म सञ्चालन हुने अभियानमार्फत Uber ले आफ्नो मोबिलिटी नेटवर्कलाई राष्ट्रिय विपद् राहत प्रयाससँग जोड्दै यात्रु तथा चालक दुवैलाई मानवीय सहयोगमा सहभागी गराउने जनाएको छ।
अभियानअन्तर्गत Uber ले बाढी प्रभावित समुदायको सहयोगका लागि नेपाल रेडक्रस सोसाइटीलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। उक्त रकम आपतकालीन राहत सामग्री, अस्थायी आश्रय तथा पुनर्स्थापनासम्बन्धी कार्यमा प्रयोग गरिनेछ।
यसका साथै अभियान अवधिभर Uber प्लेटफर्ममार्फत सम्पन्न हुने हरेक Uber Bike यात्राबापत १० रुपैयाँ र हरेक Uber Cab यात्राबापत २० रुपैयाँ Uber ले आफ्नै तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मा जम्मा गर्ने जनाएको छ।
यसअनुसार अभियान अवधिमा Uber मार्फत जति धेरै यात्रा सम्पन्न हुन्छन्, बाढी प्रभावित समुदायका लागि हुने कुल योगदान पनि त्यति नै बढ्नेछ।
कम्पनीका अनुसार ‘Ride for Nepal’ अभियानको उद्देश्य दैनिक यात्रालाई विपद् प्रभावित समुदायको राहत तथा पुनर्निर्माण प्रयाससँग प्रत्यक्ष रूपमा जोड्नु हो। यात्रुले Uber एपमार्फत राइड बुक गर्दा र चालकले यात्रा सफलतापूर्वक सम्पन्न गर्दा प्रत्येक योग्य यात्रासँगै राहत कोषमा Uber को अतिरिक्त योगदान थपिनेछ।
यात्रु र चालकलाई अतिरिक्त आर्थिक भार नपर्ने
Uber ले अभियानमा सहभागी हुँदा यात्रुले तिर्ने भाडा वा चालकले प्राप्त गर्ने आम्दानीमा कुनै परिवर्तन नहुने स्पष्ट पारेको छ।
यात्रुले साविकअनुसारकै भाडा तिर्नेछन् भने चालकले पनि नियमित रूपमा पाउँदै आएको रकम नै प्राप्त गर्नेछन्। प्रत्येक योग्य सम्पन्न यात्राबापत राहत कोषमा जाने रकम Uber ले आफ्नै तर्फबाट अतिरिक्त रूपमा व्यहोर्नेछ।
Uber का नेपालस्थित रणनीतिक साझेदार Taximandu का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अर्जुन केसी ले विपद्को समयमा यात्रु र चालक दुवैको सहभागिताले राहत अभियानलाई थप प्रभावकारी बनाउन सक्ने बताए।
उनले भने, “Ride for Nepal केवल एउटा अभियान मात्र होइन, विपद्को समयमा हामी सबै एकजुट भएर सहयोग गर्ने अवसर हो। यात्रुले बुक गर्ने हरेक राइड र चालक साथीहरूले पूरा गर्ने हरेक यात्रासँगै राहतका लागि Uber को योगदान बढ्दै जानेछ।”
उनले प्रत्येक यात्रालाई बाढी प्रभावित क्षेत्रको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणसँग जोडिएको अर्थपूर्ण योगदानका रूपमा विकास गर्ने उद्देश्य रहेको बताए।
त्यसैगरी, Uber India and South Asia की Head of International Markets Akanksha Singh ले नेपालको राहत तथा पुनर्स्थापना प्रयासमा सामूहिक सहयोग आवश्यक रहेको बताइन्।
उनका अनुसार Uber आफूले सेवा प्रदान गर्ने समुदायको अभिन्न हिस्सा भएकाले कम्पनीको जिम्मेवारी मोबिलिटी सेवामा मात्र सीमित छैन। नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्य तथा आफ्नो प्लेटफर्म र स्रोत परिचालन गरी बाढी प्रभावित समुदायको राहत, पुनर्स्थापना र पुनर्निर्माणमा योगदान पुर्याउने उद्देश्य रहेको उनले बताइन्।
Uber ले आफ्ना सबै यात्रु तथा चालकलाई ‘Ride for Nepal’ अभियानमा सहभागी हुँदै दैनिक यात्रालाई बाढी प्रभावित समुदायको सहयोगसँग जोड्न आग्रह गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।