काठमाण्डौ । सेयर बजारमा लगानी गर्दा कम्पनीको नाम वा अरूको सिफारिसका भरमा निर्णय गर्नु पर्याप्त हुँदैन। लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले सामाजिक सञ्जालमा लेख्दै दीर्घकालीन प्रतिफलका लागि कम्पनीको व्यवसायदेखि वित्तीय विवरण, मूल्यांकन र जोखिमसम्मका आधारभूत कुरा बुझ्न सुझाव दिएका छन्।
उनको भनाइमा लगानी गर्न ठूलो विद्वान हुनुपर्दैन, तर आफ्नो निर्णयको आधार आफैँ बुझ्नुपर्छ। घाटा भएपछि अरूलाई दोष दिनुभन्दा सेयर किन्नुअघि गृहकार्य गर्नु उपयोगी हुने उनले बताएका छन्।
पहिलो प्रश्न : कम्पनीले पैसा कसरी कमाउँछ ? पौडेलका अनुसार लगानीकर्ताले कम्पनीले बेच्ने वस्तु वा दिने सेवा, आम्दानीको स्रोत र भविष्यमा त्यसको माग कस्तो रहन सक्छ भन्ने बुझ्नुपर्छ। उनले राम्रो कम्पनी र राम्रो खरिद मूल्य एउटै कुरा नभएको औँल्याएका छन्।
त्यसपछि कम्पनीका वित्तीय विवरण हेर्नुपर्छ। आम्दानी र नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस), नेटवर्थ, इक्विटीमा प्रतिफल (आरओई), ऋण, नगद प्रवाह, लाभांश र सञ्चित आम्दानीबारे सामान्य जानकारी राख्न उनले सुझाएका छन्। नाफा देखिएको कम्पनीको नगद प्रवाह र ऋणको अवस्था पनि हेर्नुपर्ने उनको सन्देश छ।
कम्पनी राम्रो छ भन्ने थाहा पाउनु मात्र पर्याप्त हुँदैन; अहिले चलेको मूल्यमा त्यसको सेयर किन्नु उचित छ कि छैन भन्ने छुट्टै प्रश्न हो। त्यसका लागि मूल्य–आम्दानी अनुपात (पी/ई), मूल्य–नेटवर्थ अनुपात (पी/बी), ईपीएस, लाभांश प्रतिफल, बजार पुँजीकरण र वृद्धि दर हेर्न पौडेलले आग्रह गरेका छन्।
उनले कम्पनीको व्यवस्थापन र संस्थागत सुशासनलाई पनि लगानी निर्णयको आधार मानेका छन्। उठाएको पुँजी कसरी उपयोग भइरहेको छ, बारम्बार हकप्रद सेयर जारी गर्दा व्यवसायमा सुधार आएको छ कि छैन, सम्बन्धित पक्षसँग अस्वाभाविक कारोबार छ कि छैन र विगतमा शेयरधनीलाई कस्तो व्यवहार गरिएको छ भन्ने जाँच्नुपर्ने उनको सुझाव छ।
सबै क्षेत्रका कम्पनीलाई एउटै मापदण्डले हेर्न नमिल्ने पौडेलको भनाइ छ। बैंक, जलविद्युत्, बीमा, उत्पादनमूलक उद्योग, होटल र लगानी कम्पनीको आम्दानीको ढाँचा तथा जोखिम फरक हुन्छन्। उदाहरणका लागि, जलविद्युत् कम्पनीमा विद्युत् उत्पादन क्षमता, विद्युत् खरिद सम्झौता (पीपीए), व्यावसायिक उत्पादन सुरु हुने मिति (सीओडी), आयोजना लागत, ऋण, ब्याज खर्च र पानीको उपलब्धता बुझ्नुपर्ने उनले उल्लेख गरेका छन्।
पौडेलले आजको ईपीएसमा मात्र सीमित नरही कम्पनी तीनदेखि पाँच वर्षपछि कहाँ पुग्न सक्छ भन्ने आकलन गर्न पनि सुझाएका छन्। नयाँ आयोजना, उत्पादन क्षमता, विस्तार योजना, बजार, प्रतिस्पर्धा र नियामकीय वातावरणले भविष्यको आम्दानीमा पार्न सक्ने असर हेर्नुपर्ने उनको भनाइ छ।
बजारको मनोविज्ञान बुझ्नु अर्को महत्त्वपूर्ण पक्ष हो। कम्पनीको आधारभूत अवस्थाअनुसार मात्र सेयरमूल्य नचल्ने भएकाले डर र लोभले छोटो समयमा बजारलाई तीव्र रूपमा माथि वा तल पुर्याउन सक्ने उनले बताएका छन्। अरूले किनेको देखेर किन्ने वा अरूले बेचेको देखेर बेच्ने बानी जोखिमपूर्ण हुने उनको चेतावनी छ।
जोखिम व्यवस्थापनमा उनले सबै रकम एउटै कम्पनी वा एउटै क्षेत्रमा नराख्न सुझाव दिएका छन्। पोर्टफोलियो विविधीकरणसँगै चाहिएको बेला सेयर बेच्न सकिने अवस्था, कम्पनीको ऋण, ब्याजदर, नियमन र व्यवसायसँग सम्बन्धित जोखिम हेर्नुपर्छ। सबैभन्दा पहिले लगानीकर्ताले आफू कति जोखिम सहन सक्छु भन्ने स्पष्ट गर्नुपर्ने उनको जोड छ।
कम्पनीबारे एकपटक अध्ययन गरेर पुग्दैन। वार्षिक तथा त्रैमासिक प्रतिवेदन, नेप्सेमा गरिएका खुलासा, धितोपत्र बोर्डसम्बन्धी सूचना र साधारणसभाका कागजात नियमित पढेर कम्पनीको अवस्थामा आएको परिवर्तन पछ्याउन पौडेलले आग्रह गरेका छन्।
अन्तिम सुझाव धैर्य र अनुशासन हो। राम्रो कम्पनीको सेयर गलत समयमा किन्दा पनि प्रतिफलका लागि कुर्नुपर्ने हुन सक्छ। आफूले लगानी गर्दा बनाएको आधारभूत निष्कर्ष परिवर्तन भएको छैन भने बजारको दैनिक उतारचढावकै कारण निर्णय नबदल्न उनले सुझाएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।