काठमाण्डौ । देशका विभिन्न भागमा असोज ९ देखि ११ गतेसम्म मेघगर्जन, चट्याङ, हावाहुरी र हिमपातसहित भारी वर्षा हुन सक्ने पूर्वानुमानपछि गृह मन्त्रालयले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
मन्त्रालयले असोज ८ गते जारी गरेको अपिलमा नेपाल मौसम विज्ञान विभागको विशेष बुलेटिन, जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको विशेष वर्षा पूर्वानुमान बुलेटिन र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको उच्च सतर्कता अपिललाई आधार बनाएको छ। जोखिमबारे जारी हुने पछिल्ला सूचनाको अनिवार्य पालना गर्न पनि मन्त्रालयले भनेको छ।
मन्त्रालयले विशेष बुलेटिन र एसएमएसअनुसार सतर्क रहन तथा परिवार र समुदायमा सूचना पुर्याउन आग्रह गरेको छ। विपद् सम्भावित स्थानमा उद्धार तथा राहतका लागि आवश्यक साधन तयारी अवस्थामा राख्न स्थानीय निकायलाई अनुरोध गरिएको छ।
उच्च जोखिमयुक्त स्थानका बासिन्दाले विपद् प्रतिकार्य गर्नुपर्ने अवस्था आएमा सुरक्षित स्थानमा स्थानान्तरण गर्न सकिने गरी तयारी गर्नुपर्ने मन्त्रालयको अपिल छ। हिमाली क्षेत्रमा भारी हिमपात र मौसम प्रतिकूल हुन सक्ने भन्दै पदयात्रा र हिमाल आरोहणमा रहेकाहरूलाई तत्काल सुरक्षित स्थानमा फर्कन भनिएको छ।
त्यसैगरी, सडक अवरुद्ध हुने वा पहिरोको जोखिम हुन सक्ने भएकाले यात्रा गर्नुअघि सडक र यातायात सेवाको अवस्थाबारे जानकारी लिन मन्त्रालयले सुझाव दिएको छ। बालबालिका, वृद्ध, गर्भवती र अपाङ्गता भएका व्यक्तिलाई सुरक्षित स्थानमा राख्न स्थानीय प्रशासन र तहहरूलाई आवश्यक सहयोग गर्न आग्रह गरिएको छ।
मन्त्रालयले जल तथा मौसम विज्ञान विभाग, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, स्थानीय प्रशासन र प्रहरीबाट जारी हुने आधिकारिक सूचना तथा निर्देशन पालना गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
आपत्कालीन अवस्थामा मौसम तथा वर्षासम्बन्धी जानकारीका लागि ११५५, नेपाल प्रहरीका लागि १००, सशस्त्र प्रहरी बलका लागि १११४ र विपद्को आपत्कालीन हटलाइनका लागि १२३४ मा सम्पर्क गर्न सकिने मन्त्रालयको सूचनामा उल्लेख छ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।