काठमाण्डौ । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निरज शर्मा नियुक्त भएका छन् ।
गत भदौ ३० गते बसेको इसेवा सञ्चालक समितिको बैठकले शर्मालाई असोज १२ गतेदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । निवर्तमान सीईओ जगदीश खड्काको चारवर्षे कार्यकाल पूरा भएपछि शर्माले नेतृत्व सम्हालेका हुन् ।
शर्मासँग बैंकिङ तथा वित्तीय क्षेत्रमा २५ वर्षभन्दा बढीको नेतृत्वदायी अनुभव रहेको कम्पनीले जनाएको छ । उनी ट्रान्जेक्सन बैंकिङ, कार्ड प्रणाली, डिजिटल रूपान्तरण तथा रिटेल बैंकिङका क्षेत्रमा अनुभवी छन् ।
इसेवाका अनुसार डिजिटल नवप्रवर्तन, रणनीतिक वृद्धि तथा ग्राहककेन्द्रित नवीनता विकासमा शर्माको विशेष अनुभव छ । टोली नेतृत्व तथा संस्थागत रूपान्तरणलाई प्रभावकारी रूपमा अघि बढाउने क्षमता रहेको भन्दै कम्पनीले उनको नेतृत्वमा आगामी यात्रा थप सुदृढ हुने अपेक्षा गरेको छ ।
सञ्चालक समितिले शर्माको अनुभव, नेतृत्व क्षमता तथा डिजिटल वित्तीय सेवासम्बन्धी विज्ञताले कम्पनीको आगामी रणनीतिक प्राथमिकता प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
खड्काको चारवर्षे कार्यकाल पूरा
यसैबीच, इसेवाका निवर्तमान प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले चारवर्षे कार्यकाल पूरा गरेका छन् ।
वि.सं. २०७९ असोज १२ मा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका खड्काको नेतृत्वमा इसेवाले सेवा, पहुँच तथा डिजिटल वित्तीय सेवाको दायरा विस्तार गरेको कम्पनीले जनाएको छ ।
उनको कार्यकालमा इसेवाका प्रयोगकर्ताको संख्या १ करोड ४० लाख र मर्चेन्टको संख्या ६ लाख नाघेको विज्ञप्तिमा उल्लेख छ ।
खड्काको नेतृत्वमा डिजिटल कर्जा सुविधा, फाइनान्स ३६०, इसेवा सर्कल, बिजनेस लिंक, बिजनेस एप, इन्टरनेट पे, क्यालेन्डर तथा इभेन्ट सेवा, इन्स्योरेन्स प्रडक्टलगायत विभिन्न सेवाको विस्तार गरिएको कम्पनीले जनाएको छ ।
त्यस्तै, दृष्टिविहीन नागरिकका लागि ‘ट्याकब्याक’ फिचर तथा नेपाली भाषामा एप सञ्चालनको सुविधा विस्तार गर्दै डिजिटल वित्तीय सेवा थप पहुँचयोग्य बनाइएको विज्ञप्तिमा उल्लेख छ ।
इसेवाले खड्काको नेतृत्वमा व्यवसायिक वृद्धि, डिजिटल वित्तीय सेवाको विस्तार, समावेशी वित्तीय पहुँच तथा ग्राहककेन्द्रित नवप्रवर्तनमा महत्वपूर्ण प्रगति भएको जनाएको छ ।
कम्पनीले आफ्नो ब्रान्ड प्रतिवद्धता ‘सबै, सँधै, सँगै’ लाई आत्मसात गर्दै आगामी दिनमा पनि डिजिटल सेवाको पहुँच विस्तार, नयाँ उत्पादन तथा सेवा विकास र समावेशी डिजिटल वित्तीय अनुभव निर्माणमा केन्द्रित रहने जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।