सोमबार, आश्विन १२,२०८३ 07:04:19
Bizshala
  • सोमबार, आश्विन १२,२०८३ 07:04:19
Bizshala
Global IME Bank Limited

कालीगण्डकी करिडोर पूर्ण सञ्चालनमा आउन अझै एक साता लाग्ने, बेनी–घाँसा खण्ड सबैभन्दा जटिल

Bizshala
कालीगण्डकी करिडोर पूर्ण सञ्चालनमा आउन अझै एक साता लाग्ने, बेनी–घाँसा खण्ड सबैभन्दा जटिल
New Office

 

काठमाण्डौ । अविरल वर्षा र पहिरोका कारण अवरुद्ध कालीगण्डकी करिडोर पूर्ण रूपमा सञ्चालनमा आउन अझै करिब एक साता लाग्ने भएको छ ।

मालढुंगा–बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार पर्वतको मालढुंगादेखि मुस्ताङस्थित नेपाल–चीन सीमासम्मको करिब २०२ किलोमिटर सडक खण्डमा ४६ स्थानमा पहिरो गएको छ । तीमध्ये केही ठाउँमा लेदो थुप्रिएको छ भने केही स्थानमा ढुंगासहितको पहिरो र नदी कटानका कारण सडक नै बगेको अवस्था छ ।

सबैभन्दा जटिल अवस्था म्याग्दीको बेनीदेखि मुस्ताङ प्रवेशद्वार घाँसासम्मको करिब ४५ किलोमिटर खण्डमा देखिएको छ । यस क्षेत्रमा चार स्थानमा सडक पूर्ण रूपमा बगेको आयोजनाले जनाएको छ ।

गलेश्वर, राहुघाट पुल, बैसरी, सिरुबारी, बेगखोला, महभीर, भिरकाटे, पोखरेबगर, नौनीबगर र तातोपानी कुण्ड आसपासका क्षेत्रमा सडकमा ठूलो क्षति पुगेको छ ।

आयोजना प्रमुख शर्माका अनुसार केही स्थानमा पुरानै सडक उकासेर सञ्चालन गर्नुपर्नेछ भने केही ठाउँमा नयाँ ट्र्याक खोल्नुपर्ने अवस्था छ । पोखरेबगर क्षेत्रमा पुलको एप्रोचसमेत बगेको छ ।

उनले क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्दै सडक पूर्ण रूपमा खुलाउन कम्तीमा एक साता लाग्ने अनुमान गरिएको बताए ।

यद्यपि मालढुंगा–बेनी खण्ड भने मंगलबार साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य छ । करिब १३ किलोमिटर लामो उक्त खण्डमा सामान्य प्रकृतिका पहिरो रहेकाले पन्छाउने काम तीव्र रूपमा भइरहेको छ ।

त्यस्तै, मुस्ताङको घाँसादेखि कोरलासम्मको १५० किलोमिटरभन्दा बढी सडक बुधबार साँझसम्म खुलाउने लक्ष्य राखिएको छ । यस क्षेत्रमा धेरै ठाउँमा लेदोसहितको पहिरो गएको भए पनि तुलनात्मक रूपमा छिटो हटाउन सकिने अवस्था रहेको आयोजनाले जनाएको छ ।

मुस्ताङ खण्डमा लेतेखोला, पाण्डाखोला, एक्लेभट्टी, कागबेनी, तिरीगाउँ र छुसाङलगायत स्थानमा पहिरो गएको छ । मार्फामा कल्भर्ट अवरुद्ध भएर सडकबाटै पानी बगेको छ ।

यस्तै, माथिल्लो मुस्ताङका घ्याकर खोला, चैले, समर खोला र झोखोलामा नदीले सडक कटान गरे पनि वैकल्पिक व्यवस्थाबाट छिट्टै सडक सञ्चालनमा ल्याउन सकिने अपेक्षा गरिएको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सडक नै बगेका ठाउँमा चुनौती

लेदोसहितको पहिरो हटाउन एक्स्काभेटर प्रयोग गरी केही घण्टामै सडक खुलाउन सकिने भए पनि सडक नै बगेका वा नदीले ट्र्याक काटेका क्षेत्रमा समस्या जटिल बनेको छ ।

रुप्से, काभ्रेभीर र खहरेखोलाजस्ता क्षेत्रमा ठूला ढुंगा खसेकाले हेभी इक्विपमेन्ट प्रयोग गरेर चट्टान फुटाउँदै सडक खुलाउने तयारी छ ।

भिरकाटे, तातोपानी र नाच्याङ क्षेत्रमा भने सडक नै कटान भएकाले पुरानै ट्र्याक उकास्ने वा नयाँ ट्र्याक खोल्ने विकल्पमा काम भइरहेको छ ।

आयोजना प्रमुख शर्माका अनुसार भौगोलिक अवस्था जटिल भएकाले माथिल्लो भाग काटेर नयाँ ट्र्याक खोल्न सजिलो छैन । त्यसैले सम्भव भएसम्म तल्लो भागबाट बेस उठाएर सडक पुनः सञ्चालन गर्ने योजना छ ।

तर नदीको बहाव अझै पूर्ण रूपमा नघटेकाले यस्तो काम जोखिमपूर्ण र समय लाग्ने देखिएको छ ।

व्यापार र पर्यटनमा पनि असर

कालीगण्डकी करिडोर अवरुद्ध हुँदा कोरला नाका हुँदै हुने नेपाल–चीन व्यापार प्रभावित भएको छ ।

रसुवा–केरुङ र तातोपानी नाका बन्द रहेको अवस्थामा कोरला नाका चीनसँगको महत्वपूर्ण वैकल्पिक व्यापारिक मार्गका रूपमा प्रयोग भइरहेको थियो ।

दशैँको मुखमा लत्ताकपडा, सवारी साधन तथा भेडाच्याङ्ग्रा आयात हुने समयमा सडक अवरुद्ध हुँदा व्यापारीहरू प्रभावित भएका छन् ।

त्यस्तै, मुख्य पर्यटकीय सिजन सुरु हुने बेला घाँसा, कालोपानी, टुकुचे, जोमसोम, मुक्तिनाथ र उपल्लो मुस्ताङ जाने सडक बन्द हुँदा होटल तथा पर्यटन व्यवसायमा पनि असर परेको छ ।

सडक अवरुद्ध हुँदा स्थानीय आवागमन, भन्सार पहुँच र पर्यटकको यात्रा समेत ठप्प भएको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.