काठमाण्डौ । प्रतिनिधिसभाको शून्य समयमा बोल्न नाम टिपाउने तर आफ्नो पालो आउँदा सभाकक्षमा उपस्थित नहुने सांसदहरूको प्रवृत्ति दोहोरिन थालेको छ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि यस्तै दृश्य देखियो। बैठक सुरु भएपछि आकस्मिक समयमा श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले बोले। त्यसपछि सुरु भएको शून्य समयमा केही सांसदहरूले आफ्ना विषय राखे।
शून्य समयमा बोल्न नाम टिपाएका सांसद जगदिश खरेल (दोलखा) को पालो आएपछि सभामुख डोलप्रसाद अर्यालले उनको नाम तीन पटकसम्म बोलाए। तर उनी सभाकक्षमा उपस्थित थिएनन्।
त्यसपछि अन्य सांसदहरूले आफ्ना विषय राख्दै गए। केही समयपछि सांसद धर्मराज केसीको पालो आयो। सभामुखले उनको नाम पनि तीन पटकसम्म बोलाए, तर उनी पनि सभाकक्षमा भेटिएनन्।
त्यसैगरी सांसद पुकार बमको नाम बोलाउँदा उनीसमेत उपस्थित नभएपछि बोल्न पाएनन्।
मंगलबार शून्य समयमा बोल्न नाम टिपाएर सभाकक्षमा अनुपस्थित रहेका खरेल, केसी र बम तीनै जना राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुन्।
संसदीय अभ्यासअनुसार सभामुखले बोल्न पालो आएका सांसदको नाम तीन पटकसम्म बोलाउने गर्छन्। तीन पटक बोलाउँदा पनि सांसद उपस्थित नभए उक्त समय सकिन्छ र सभामुखले अर्को सांसदलाई बोल्न दिन्छन् वा बैठकको कार्यसूची अघि बढाउँछन्।
प्रतिनिधिसभा नियमावलीको नियम १५ मा शून्य र विशेष समयसम्बन्धी व्यवस्था गरिएको छ। समसामयिक विषय प्रस्तुत गर्न सभामुखले शून्य तथा विशेष समय उपलब्ध गराउन सक्छन्।
त्यस्तै, अघिल्लो बैठकदेखि नयाँ बैठक सुरु हुँदासम्मको अवधिमा भएका गम्भीर प्रकृतिका घटना वा विषयमा सरकारको ध्यानाकर्षण गराउन सांसदले समय मागेमा सभामुखले आकस्मिक समय पनि उपलब्ध गराउन सक्ने व्यवस्था छ।
आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले उठाएका विषयमा सम्बन्धित मन्त्रीले सात दिनभित्र सदनमा जवाफ दिनुपर्ने व्यवस्था छ।
तर संसदमा बोल्न नाम टिपाउने र पालो आउँदा अनुपस्थित हुने क्रम दोहोरिँदा शून्य समयको सदुपयोग र सांसदहरूको जिम्मेवारीबारे प्रश्न उठ्ने गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।