काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आइपीओ निष्कासनको अनुमति माग्दै पुगेका कम्पनीको संख्या ११२ पुगेको छ। तर आवेदन बढ्दै जाँदा बोर्डबाट नयाँ आइपीओ स्वीकृति भने पछिल्लो ६ महिनादेखि रोकिएको छ।
सेबोनले बुधबार अद्यावधिक गरेको विवरणअनुसार विभिन्न क्षेत्रका ११२ कम्पनीले कुल ७१ अर्ब २९ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न आवेदन दिएका छन्। ती कम्पनीले अंकित मूल्य तथा प्रिमियममा गरी ४९ करोड ६९ लाख कित्ता सेयर सर्वसाधारणमा जारी गर्ने प्रस्ताव गरेका हुन्।
आवेदन दिने कम्पनीमा उत्पादन तथा प्रशोधन, जलविद्युत, होटल तथा पर्यटन, अन्य क्षेत्र तथा बीमा कम्पनीसमेत छन्।
पाइपलाइनमा कम्पनीको संख्या बढ्नुको मुख्य कारण पछिल्लो समय आइपीओ स्वीकृति प्रक्रिया रोकिनु हो। तत्कालीन अध्यक्ष सन्तोषनारायण श्रेष्ठको कार्यकालमा वैशाख पहिलो साता केही कम्पनीले आइपीओ निष्कासन अनुमति पाएका थिए। त्यसपछि भने नयाँ कम्पनीले अनुमति पाउन सकेका छैनन्।
यसबीच असार दोस्रो साता डा. गोपाल भट्ट सेबोन अध्यक्ष बने पनि आइपीओ स्वीकृतिको प्रक्रिया अझै अघि बढ्न सकेको छैन। नयाँ अध्यक्ष आएपछि रोकिएका फाइलले गति लिने अपेक्षा गरिए पनि हालसम्म ठूलो संख्यामा आवेदन पाइपलाइनमै सीमित छन्।
यसरी स्वीकृति रोकिँदै जाँदा एकातर्फ कम्पनीको पूँजी परिचालन योजना प्रभावित भएको छ भने अर्कोतर्फ प्राथमिक बजारमा नयाँ आइपीओको आपूर्ति पनि सुस्त बनेको छ।
आइपीओ स्वीकृति नहुँदा धितोपत्र बोर्डमा आवेदनको चाप थपिँदै गएको छ। अब बोर्डले पाइपलाइनमा रहेका कम्पनीको फाइल कहिलेदेखि अघि बढाउँछ भन्ने विषय लगानीकर्ता र सम्बन्धित कम्पनीका लागि चासोको विषय बनेको छ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।