काठमाण्डौ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजना लामो समयदेखि विद्युत उत्पादन तथा निकासी गर्न नसक्ने अवस्थामा पुगेको छ। पहिरोका कारण प्रसारण लाइन अवरुद्ध भएको अवस्थामा पछिल्लो आकस्मिक बाढीले त्रिशूली–३बी हब सबस्टेसनमै क्षति पुर्याएपछि आयोजनाको विद्युत उत्पादन पुनः सञ्चालन अनिश्चित बनेको हो।
कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई बुझाएको विवरणअनुसार नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा रहेको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको जडित क्षमता ११ मेगावाट छ। भदौ १० गते आयोजना क्षेत्र तथा आसपासमा आकस्मिक बाढी आएको थियो।
कम्पनीका अनुसार बाढीबाट आयोजनाका मुख्य संरचना तथा उपकरणमा प्रत्यक्ष भौतिक क्षति भने भएको छैन। प्राविधिक टोलीले गरेको स्थल निरीक्षणमा आयोजना संरचना तथा उपकरण बाढीबाट क्षतिग्रस्त नभएको पाइएको छ।
तर आयोजनाको मुख्य समस्या विद्युत प्रसारण तथा निकासीमा देखिएको छ। कम्पनीका अनुसार साउन ११ गते आएको पहिरोले नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइनको टावरमा असर पुर्याएपछि आयोजनाबाट उत्पादित विद्युतको निकासी अवरुद्ध भएको थियो। त्यसपछि प्रसारण संरचनाको मर्मत तथा पुनर्स्थापना अन्तिम चरणमा पुगेकै बेला भदौ १० गते आएको आकस्मिक बाढीले थप समस्या सिर्जना गरेको हो।
त्रिशूली–३बी हब सबस्टेसन पूर्ण रूपमा क्षतिग्रस्त
बाढीका कारण आयोजनाबाट उत्पादित विद्युत निकासी हुँदै आएको नेपाल विद्युत प्राधिकरणको त्रिशूली–३बी हब सबस्टेसन पूर्ण रूपमा क्षतिग्रस्त भएको कम्पनीले जनाएको छ। यही कारण आयोजनाबाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न तथा निकासी गर्न तत्काल सम्भव नभएको हो।
कम्पनीले विद्युत निकासीका लागि वैकल्पिक प्रसारण मार्गको सम्भावना खोज्न नेपाल विद्युत प्राधिकरणसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ।
असोज ११ सम्म साढे ७ करोड रुपैयाँ आम्दानी गुम्ने अनुमान
विद्युत उत्पादन तथा ‘पावर इभ्याकुएसन’ अवरुद्ध हुँदा कम्पनीको आम्दानीमा ठूलो असर परेको छ।
कम्पनीका अनुसार श्रावण, भदौ र असोज ११ गतेसम्म विद्युत उत्पादन हुन नसक्दा करिब ७ करोड ४१ लाख ६३ हजार २८८ रुपैयाँ ५१ पैसा आम्दानी गुमेको प्रारम्भिक अनुमान गरिएको छ। यो रकम उपलब्ध उत्पादन तथा आम्दानीसम्बन्धी विवरणका आधारमा गरिएको प्रारम्भिक अनुमान भएको र वास्तविक वित्तीय प्रभाव अन्तिम उत्पादन तथा लेखा विवरणपछि यकिन हुने कम्पनीले स्पष्ट पारेको छ।
पुनः उत्पादन कहिलेदेखि ?
आयोजना पुनः सञ्चालन हुने निश्चित मिति भने तोकिएको छैन। विद्युत उत्पादन पुनः सुरु गर्न मुख्य रूपमा नेपाल विद्युत प्राधिकरणको क्षतिग्रस्त प्रसारण पूर्वाधार तथा त्रिशूली–३बी हब सबस्टेसनको पुनर्स्थापना आवश्यक रहेको कम्पनीले जनाएको छ।
कम्पनीले प्राधिकरणसँग समन्वय गरी वैकल्पिक प्रसारण मार्गको सम्भावनासमेत खोजिरहेको छ।
ऋणको साँवा–ब्याज तिर्नसमेत दबाब
लामो समयदेखि विद्युत उत्पादन अवरुद्ध रहँदा कम्पनीको नगद प्रवाहमा पनि असर परेको छ। कम्पनीले आगामी पहिलो त्रैमासिक अवधिमा करिब ३० लाख ४५ हजार रुपैयाँ ब्याज दायित्व भुक्तानी गर्नुपर्ने अवस्था रहेको जनाएको छ।
विद्युत बिक्रीबाट आम्दानी रोकिएका कारण ऋणको साँवा तथा ब्याज व्यवस्थापनमा समेत दबाब सिर्जना भएको छ। यसका लागि सम्बन्धित ऋणदाता बैंक तथा वित्तीय संस्थासँग आवश्यक समन्वय र छलफल भइरहेको कम्पनीले जनाएको छ।
बीमा दाबी पनि गरिएको छैन
साउनको पहिरो तथा भदौको आकस्मिक बाढीका कारण कुनै मानवीय क्षति नभएको कम्पनीले जानकारी दिएको छ।
आयोजनाको बीमा गरिएको भए पनि मुख्य संरचना तथा उपकरणमा प्रत्यक्ष भौतिक क्षति नभएकाले हालसम्म बीमा दाबी पेश नगरिएको कम्पनीको भनाइ छ। तर नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइन तथा सबस्टेसनमा पुगेको क्षतिले आयोजनाको विद्युत प्रवाह प्रभावित हुँदा कम्पनीको आम्दानी भने गुमिरहेको छ।
घटनापछि कम्पनी व्यवस्थापनले आयोजना स्थलको प्रत्यक्ष निरीक्षण गरी अवस्था तथा सम्भावित प्रभावको मूल्यांकन गरेको छ। आवश्यक प्राविधिक टोली परिचालन गरी संरचना तथा उपकरणको निरीक्षणसमेत गरिएको छ।
कम्पनीले आयोजनालाई जतिसक्दो छिटो पुनः सञ्चालनमा ल्याउन प्राधिकरणसँग समन्वय गर्दै क्षतिग्रस्त त्रिशूली–३बी हब सबस्टेसनको अवस्था, वैकल्पिक प्रसारण मार्ग तथा अन्य प्राविधिक विकल्पमा काम भइरहेको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।