काठमाण्डौ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ। विभागको टोली जबरासँगै उनीनिकट केही व्यक्ति तथा नातेदारहरूको निवासमा समेत पुगेको छ।
विभाग तथा सरकारी स्रोतका अनुसार जबरासँग निकट मानिएका नवराज थपलिया, दीपक तिमल्सिना र नारायण दाहालको घरमा पनि छापा मारिएको छ।
त्यस्तै जबराका भाइ प्रभुशमशेर जबरा र ज्वाइँ नाता पर्ने नवीन बस्नेतको घरमा समेत विभागको टोली पुगेको जनाइएको छ।
छापाका क्रममा विभिन्न कागजात तथा विवरण नियन्त्रणमा लिइएको स्रोतको दाबी छ। ती कागजातको परीक्षणपछि सम्पत्तिको स्रोत, कारोबार र सम्भावित अस्वाभाविक आर्थिक गतिविधिबारे थप अनुसन्धान अघि बढाइने बताइएको छ।
किन पुग्यो सम्पत्ति शुद्धीकरणको टोली ?
हालसम्म विभागले छापाको विस्तृत कारण औपचारिक रूपमा सार्वजनिक गरेको छैन। तर जबरा र उनीनिकट व्यक्तिहरूको सम्पत्ति, आर्थिक कारोबार तथा सम्पत्तिको स्रोतसम्बन्धी विषय अनुसन्धानको दायरामा रहेको स्रोतले जनाएको छ।
यसअघि पनि जबराको सम्पत्ति र आर्थिक गतिविधिबारे विभिन्न प्रश्न उठ्दै आएका थिए। पछिल्लो छापालाई त्यही विषयमा भइरहेको अनुसन्धानको निरन्तरताका रूपमा हेरिएको छ।
तर विभागको अनुसन्धानबाट गैरकानुनी सम्पत्ति आर्जन वा सम्पत्ति शुद्धीकरण भएको ठहर भइसकेको अवस्था भने होइन। अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा मात्रै थप कानुनी प्रक्रिया अघि बढ्नेछ।
केही दिनअघि नियन्त्रणमा लिइएका थिए जबरा
यो घटनाभन्दा केही दिनअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई उनकै निवासबाट रातिको समयमा नियन्त्रणमा लिएको थियो।
करिब १२ घण्टा नियन्त्रणमा राखेपछि उनलाई छाडिएको थियो।
त्यसको केही दिनमै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जबरा, उनका नातेदार र निकटस्थ व्यक्तिहरूको घरमा एकैपटक छापा मारेपछि उनीमाथिको अनुसन्धान थप गहिरिएको संकेत देखिएको छ।
अब छापाका क्रममा बरामद भएका कागजात र आर्थिक विवरणबाट के–कस्ता तथ्य बाहिरिन्छन् भन्ने विषय चासोका साथ हेरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।