काठमाण्डौ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ।
भेटमा नेपाल–अमेरिका सम्बन्ध, रसुवालगायत बाढी प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माण, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र सामाजिक विकासका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको हो।
कार्यवाहक राजदूत बोल्डिनले रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना व्यक्त गरिन्। उनले बाढी प्रभावित समुदायको अवस्था र पुनःस्थापनाका प्रयासबारे चासो राख्दै नेपालसँग आवश्यक सहकार्य गर्ने प्रतिबद्धता जनाइन्।
मन्त्री बादीले नेपाल र संयुक्त राज्य अमेरिकाबीच सन् १९४७ देखि कायम कूटनीतिक सम्बन्ध पारस्परिक सम्मान, विश्वास, विकास सहकार्य र जनस्तरीय सम्बन्धमा आधारित रहेको उल्लेख गरिन्।
उनले सन् २०२६ अगस्ट २६ मा नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको बाढीपछि महिला, किशोरी तथा बालबालिकाको सुरक्षा, संरक्षण र शिक्षामा थप चुनौती सिर्जना भएको बताउँदै प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणमा अमेरिकी सहयोग अपेक्षा गरिएको बताइन्।
मन्त्री बादीले बाढी प्रभावित समुदायको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि सरकारले उपलब्ध स्रोत, साधन र जनशक्ति परिचालन गरी काम गरिरहेको जानकारी दिइन्।
उनका अनुसार मन्त्रालयले जोखिममा रहेका महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य सीमान्तकृत समुदायको संरक्षण र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेको छ।
भेटवार्तामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका क्षेत्रमा नेपाल र अमेरिकाबीच सहकार्य थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।