काठमाण्डौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदानको तयारी भइरहँदा खुलामञ्च र राष्ट्रिय सभागृहमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
मतदान सुरु हुनुअघि ती दुवै क्षेत्रमा पत्रकारलाई समेत प्रवेशमा रोक लगाइएको छ। महाधिवेशन प्रतिनिधिहरूलाई पनि केही समयसम्म मतदानस्थलभित्र प्रवेश गर्न दिइएको थिएन।
मतदानस्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुने कार्यक्रम छ। मतदान समय भने पटक–पटक सरेको छ। बिहान १० बजेका लागि तय गरिएको मतदान पहिले दिउँसो १ बजे र त्यसपछि २ बजेका लागि सारिएको थियो। निर्वाचन समितिले तयारी पूरा भएपछि मतदान सुरु गर्ने जनाएको छ।
महाधिवेशनमा ७ हजार २५५ प्रतिनिधिले मतदान गर्नेछन्। निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवन गरी तीन स्थानमा सात वटा मतदान केन्द्र तोकेको छ।
राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था छ। खुलामञ्चमा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिका साथै भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट आएका प्रतिनिधिले मतदान गर्नेछन्।
प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ। प्रतिनिधिको परिचय र मतदाता नामावली रुजु गरेपछि मात्रै मतदान गर्न पाइने व्यवस्था गरिएको छ।
मतदान सुरु हुनुअघि निर्वाचन समिति र पदाधिकारीका उम्मेदवारबीच मतदान व्यवस्थापनबारे छलफलसमेत भएको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।