काठमाडौँ। नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनासँगै दुर्गा पक्ष आरम्भ भएको हो। आज घरघरमा दियो, कलश र गणेश स्थापना गरी दुर्गा देवीको पूजा आराधना गर्दै जमरा राख्ने परम्परा छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज घटस्थापनाको शुभसाइत बिहान ११ः४७ बजे रहेको छ। शास्त्रीय मान्यताअनुसार जौँ रोपेर राखिएको जमरा विजयादशमीका दिन टीका र प्रसादसँगै ग्रहण गरिन्छ।
नवरात्रका नौ दिन महाकाली, महालक्ष्मी र महासरस्वतीसहित नवदुर्गाका विभिन्न स्वरूपको पूजा गरिन्छ। दसैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाउने गरिन्छ। रोजगारी, अध्ययन तथा अन्य कामले घरबाहिर रहेका मानिससमेत पर्व मनाउन आफ्नो थातथलो फर्कने भएकाले यसलाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा लिइन्छ।
यस वर्ष विजयादशमी कात्तिक ४ गते बुधबार परेको छ। समितिका अनुसार त्यस दिन देवी विसर्जनको साइत बिहान ८ः४९ बजे र टीका ग्रहणका लागि उत्तम साइत बिहान १०ः२६ बजे रहेको छ। बडादसैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।