काठमाण्डौ । नेपाल राष्ट्र बैंकले दशैं, तिहार तथा छठको लामो बिदामा साइबर ठगी र अनलाइनमार्फत हुने आर्थिक अपराधको जोखिम बढ्न सक्ने भन्दै बैंक तथा वित्तीय संस्थालाई २४ सै घण्टा सम्पर्कमा रहने जिम्मेवार व्यक्ति तोक्न निर्देशन दिएको छ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकलाई सूचना जारी गर्दै आपतकालीन अवस्थामा तत्काल समन्वय गर्न सक्ने ‘अन कल’ सम्पर्क व्यक्ति तोक्न भनेको हो।
तोकिएका व्यक्तिको नाम, पद, मोबाइल नम्बर तथा चौबिसै घण्टा अनुगमन हुने ड्युटी इमेल ठेगानासहितको विवरण नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गतको साइबर ब्युरोलाई उपलब्ध गराउनुपर्नेछ।
चाडपर्वका बेला लामो सार्वजनिक बिदा हुने र सोही अवधिलाई लक्षित गरी अनलाइन ठगी, साइबर फ्रड तथा शंकास्पद डिजिटल कारोबार बढ्न सक्ने जोखिमलाई ध्यानमा राखेर यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।
आपतकालीन संयन्त्र सक्रिय हुँदा साइबर ठगीको घटना हुनासाथ सम्बन्धित कारोबारको विवरण छिटो उपलब्ध गराउन, शंकास्पद वालेट तथा खाताको पहिचान गर्न र आवश्यक परे तत्काल रोक्का गर्न सहज हुनेछ।
यसबाट ठगीबाट रकम थप स्थानान्तरण हुन नदिनुका साथै प्रहरीको अनुसन्धानसमेत छिटो र प्रभावकारी बनाउन सहयोग पुग्ने राष्ट्र बैंकको अपेक्षा छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।