काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले जारी पुँजीको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँबराबरका ५९ लाख १५ हजार कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको छ।
पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि १६ लाख ९० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २२ हजार ५०० कित्ता शेयर छुट्याइएको छ।
स्थानीयतर्फ अतिप्रभावित क्षेत्र दोलखाको बिगु गाउँपालिकाका वडा नं. ५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिकाका वडा नं. २, ३ र ४ का बासिन्दाले १० लाख १४ हजार कित्ता शेयर पाउनेछन्। बाँकी ६ लाख ७६ हजार कित्ता दुवै गाउँपालिकाका अन्य वडाका स्थानीयका लागि छुट्याइएको छ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। स्थानीयले छिटोमा कात्तिक २५ र ढिलोमा मंसिर १० गतेसम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदनको अन्तिम मिति छिटोमा कात्तिक १६ र ढिलोमा कात्तिक २५ गते तोकिएको छ।
स्थानीयले तोकिएका बैंकका शाखा तथा संकलन केन्द्रबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।