काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु हुन लागेको अवसरमा नेपाली क्रिकेटको सफलताको कामना गरेका छन्।
प्रधानमन्त्री शाहले केही वर्षको अवधिमै एनपीएल देशकै ठूलो खेलकुद उत्सवका रूपमा स्थापित भएको उल्लेख गर्दै प्रतियोगितामा सहभागी हुने खेलाडी, कमेन्टेटर तथा आयोजकलाई शुभकामना दिएका हुन्।
उनले लिगमा सहभागी हुन नेपाल आएका अन्तर्राष्ट्रिय खेलाडी र कमेन्टेटरलाई स्वागत गर्दै नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान)लाई प्रतियोगिताको सफलताका लागि शुभकामना दिएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले नेपाली क्रिकेटको उज्ज्वल भविष्यको कामनासमेत गरेका छन्। उनले भनेका छन्, ‘नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता एनपीएल आजदेखि सुरु हुँदैछ। केही वर्षमै यो ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको छ। लिगमा सहभागी हुन आएका सबै अन्तर्राष्ट्रिय खेलाडी र कमेन्टेटरलाई हार्दिक स्वागत छ। नेपाली खेलाडी, आयोजक र क्यानलाई यो सुन्दर प्रतियोगिताका लागि शुभकामना। नेपाली क्रिकेट अमर रहोस्।’
एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। प्रतियोगिता आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।