काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामै नेपालले ४ अर्ब ४८ करोड ८३ लाख रुपैयाँभन्दा बढीको धान, चामल, कनिका र धानको बिउ आयात गरेको छ।
भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि असोजसम्म कुल ५ करोड ६८ लाख ९३ हजार १२० किलो अर्थात् ५६ हजार ८९३ टन धानचामल तथा सम्बन्धित वस्तु नेपाल भित्रिएको हो।
यसका लागि नेपालबाट ४ अर्ब ४८ करोड ८३ लाख ६१ हजार रुपैयाँ बाहिरिएको छ।
असोज महिनामा मात्रै धानचामल आयात उल्लेख्य रूपमा बढेको देखिन्छ। साउन र भदौसम्म कुल ४५ हजार ५४३ टन धानचामल आयात भएकोमा असोजमा थप ११ हजार ३४९ टन भित्रिएको छ।
रकमका हिसाबले पहिलो दुई महिनामा ३ अर्ब ३७ करोड ७७ लाख ७५ हजार रुपैयाँको आयात भएको थियो। असोजमा मात्रै थप १ अर्ब ११ करोड ५ लाख ८६ हजार रुपैयाँ बराबरको धानचामल नेपाल भित्रिएको छ।
पहिलो त्रैमासमा परिमाणका आधारमा सबैभन्दा धेरै ‘अन्य चामल’ आयात भएको छ। यस अवधिमा २३ हजार ७४ टन अन्य चामल आयात भएको छ, जसको मूल्य १ अर्ब ६४ करोड ५९ लाख ३२ हजार रुपैयाँ रहेको छ।
त्यसपछि १८ हजार ७१८ टन कच्चा धान आयात भएको छ। यसको मूल्य ८४ करोड ६१ लाख ४५ हजार रुपैयाँ रहेको छ।
परिमाणमा तेस्रो स्थानमा रहे पनि रकमका आधारमा भने बासमती चामलमा सबैभन्दा धेरै पैसा बाहिरिएको छ। तीन महिनामा १४ हजार ४४९ टन बासमती चामल आयात भएको छ, जसका लागि १ अर्ब ९६ करोड ८५ लाख ५९ हजार रुपैयाँ खर्च भएको छ।
यस्तै, ६४९ टन कनिका आयात गर्दा २ करोड ७१ लाख ९ हजार रुपैयाँ बाहिरिएको छ। ब्राउन राइस ८४९ किलो आयात भएको छ, जसको मूल्य १ लाख १५ हजार रुपैयाँ रहेको छ।
सबैभन्दा कम धानको बिउ आयात भएको छ। चीन र भारतबाट गरी जम्मा ६७ किलो धानको बिउ आयात भएको छ, जसको मूल्य ५ लाख १ हजार रुपैयाँ रहेको छ।
नेपालले मुख्य रूपमा भारतबाट धानचामल आयात गर्ने गरेको छ। यद्यपि इटाली, पोल्यान्ड, भियतनाम, थाइल्यान्ड र चीनबाट समेत सीमित परिमाणमा धान तथा चामल आयात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ।
धान उत्पादनको मुख्य सिजनमै ठूलो परिमाणमा धानचामल आयात हुनु खाद्य आत्मनिर्भरता र कृषि उत्पादनको अवस्थामाथि पुनः प्रश्न उठाउने विषय बनेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।