काठमाडौं । विश्वकै ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्समा भएको साइबर हमलाबाट ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरका डिजिटल सम्पत्ति प्रभावित भएका छन्। कम्पनीले घटनाको पुष्टि गर्दै प्रभावित सम्पत्तिमध्ये करिब आधा अन्य प्लेटफर्मको सहयोगमा रोक्का गरिएको जनाएको छ। बाँकी क्षति पनि आफैँले व्यहोर्ने बाइनान्सले स्पष्ट पारेको छ।
प्रारम्भिक अनुसन्धानअनुसार एक इन्जिनियरको ल्यापटपमा ह्याकरले पहुँच बनाएर अनधिकृत रूपमा डिजिटल सम्पत्ति निकालेको हुन सक्ने देखिएको छ।
क्रिप्टो विश्लेषण संस्था टीआरएम ल्याब्स र चेनएनालाइसिसले यस आक्रमणमा उत्तर कोरियाली ह्याकर समूह ‘ट्रेडरट्रेटर’ संलग्न रहेको दाबी गरेका छन्। यसअघि सन् २०२५ मा बाइबिट एक्सचेन्जबाट १ अर्ब ५० करोड डलर चोरी भएको घटनालाई समेत उछिन्दै यो क्रिप्टो क्षेत्रकै ठूलो साइबर हमला बनेको छ।
बाइनान्सले चोरीमा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्न सुरक्षा निकायसँग सहकार्य भइरहेको जनाएको छ। प्रणाली पूर्ण रूपमा सुरक्षित भएको पुष्टि नहुँदासम्म रकम झिक्ने सुविधा बन्द गरिएको कम्पनीकी सहप्रमुख कार्यकारी यी हेले बताएकी छन्।
सन् २०१७ मा स्थापना भएको बाइनान्सका विश्वभर ३० करोडभन्दा बढी दर्ता भएका प्रयोगकर्ता रहेको अनुमान छ। साइबर हमलाको खबर सार्वजनिक भएपछि बिटक्वाइनको मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ भने इथेरियम र सोलानालगायत प्रमुख क्रिप्टोकरेन्सीको मूल्यमा समेत गिरावट आएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।