काठमाण्डौ । बूढीगण्डकीमा आएको बाढीपछि करिब २० दिनदेखि नदीपारि फसेको घरपालुवा कुकुरको उद्धार गरिएको छ।
गोरखाको चुमनुव्री गाउँपालिका–३ जगतमा गत असोज २५ गतेदेखि फसेको उक्त कुकुरलाई शुक्रबार धादिङबाट गएको र्याफ्टिङ टोलीले उद्धार गरेको हो।
एनिमल नेपाल र चुमनुव्री गाउँपालिकाको समन्वयमा र्याफ्टिङ टोली सिर्दिबासस्थित जगत पुगेर कुकुरलाई सुरक्षित स्थानमा ल्याएको गाउँपालिकाले जनाएको छ।
यसअघि हेलिकप्टरमार्फत कुकुरको उद्धार गर्ने तयारी गरिएको थियो। तर खराब मौसमका कारण हेलिकप्टर उड्न नसकेपछि र्याफ्टिङ टोलीको सहयोग लिइएको गाउँपालिका अध्यक्ष निमा लामाले बताए।
उद्धार गरिएको कुकुर स्थानीय कमल कार्कीले पालेका थिए। असोज २५ गते आएको बाढीले कार्कीको घरसँगै बूढीगण्डकीमाथिको पुलसमेत बगाएपछि कुकुर नदीपारि फसेको थियो।
स्थानीयका अनुसार माथिल्लो क्षेत्रमा बाढी आएको सूचना पाएपछि घरधनीहरू पुल तरेर सुरक्षित स्थानतर्फ आएका थिए। त्यसको केही समयमै बाढीले घर र पुल दुवै बगाएपछि कुकुर भने नदीको अर्कोपट्टि छुटेको थियो।
बाढीले सो क्षेत्रमा चारवटा घरसमेत बगाएको स्थानीयले बताएका छन्।
सोही क्षेत्रमा केही बाख्रा पनि फसेका छन्। उनीहरूको उद्धारका लागि समेत प्रयास भइरहेको गाउँपालिकाले जनाएको छ।
बाढीपछि लामो समयसम्म नदीपारि फसेको कुकुरलाई सुरक्षित उद्धार गरिएको घटनाले स्थानीयमा राहतको अनुभूति गराएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।