काठमाण्डौ । लुम्बिनी विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वित्तीय नतिजामा उल्लेख्य सुधार गरेको छ। अघिल्लो वर्षको यही अवधिमा ३४ करोड ८५ लाख ७८ हजार रुपैयाँ घाटा व्यहोरेको बैंकले यसपालि ३२ करोड ७१ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको हो। कर्जा नोक्सानी व्यवस्थामा आएको सकारात्मक परिवर्तनसँगै खुद ब्याज र शुल्क आम्दानी बढ्दा बैंक घाटाबाट नाफामा फर्किएको छ।
बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो वर्षको समान अवधिको तुलनामा खुद नतिजा ६७ करोड ५७ लाख रुपैयाँभन्दा बढीले सुधारिएको छ। बैंकको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ११ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २१६ रुपैयाँ ६८ पैसा रहेको छ।
खुद नाफासँगै वितरणयोग्य नाफामा पनि सुधार आएको छ। चालु त्रैमासमा नियामकीय समायोजनपछिको वितरणयोग्य नाफा २२ करोड ६३ लाख २३ हजार रुपैयाँ सकारात्मक भएको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा यस्तो नतिजा ४७ करोड ५ लाख ३३ हजार रुपैयाँ ऋणात्मक थियो।
आर्थिक वर्षको सुरुवातमा रहेको ४३ करोड ८९ लाख रुपैयाँ सञ्चित रकमसमेत जोड्दा असोज मसान्तसम्म बैंकको कुल सञ्चित वितरणयोग्य नाफा ६६ करोड ५२ लाख २४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको पहिलो त्रैमास अन्त्यमा यस्तो रकम १७ करोड ३४ लाख ६२ हजार रुपैयाँ ऋणात्मक थियो। यसले सेयरधनीलाई प्रतिफल दिन सक्ने वित्तीय आधारमा सुधार आएको देखाउँछ।
अघिल्लो वर्ष ठूलो खर्च भएको शीर्षकबाट यसपालि सकारात्मक योगदान आउँदा करअघिको नतिजामा करिब ७९ करोड ६९ लाख रुपैयाँको अनुकूल अन्तर परेको छ। बैंकको सञ्चालन नाफा ४४ करोड ३४ लाख ५१ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा सञ्चालन नतिजा ३४ करोड २९ लाख ३६ हजार रुपैयाँ ऋणात्मक थियो।
नियमित आम्दानीतर्फ खुद ब्याज आम्दानी ८.९४ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा ४५ करोड ३८ लाख ३१ हजार रुपैयाँ रहेको यस्तो आम्दानी यसपालि ४९ करोड ४४ लाख १३ हजार रुपैयाँ पुगेको छ। कुल ब्याज आम्दानी घटे पनि ब्याज खर्च अझ बढी दरले घट्दा खुद ब्याज आम्दानी बढ्न सकेको हो।
समीक्षा अवधिमा बैंकको कुल ब्याज आम्दानी १२.१५ प्रतिशतले घटेर १ अर्ब ५ करोड ८३ लाख रुपैयाँ भएको छ। ब्याज खर्च भने २४.९० प्रतिशतले घटेर ५६ करोड ३९ लाख रुपैयाँमा झरेको छ। कोषको लागत पनि अघिल्लो वर्षको यही अवधिको ४.९१ प्रतिशतबाट घटेर ३.७७ प्रतिशत कायम भएको छ।
अघिल्लो वर्षको पहिलो त्रैमासमा ७.७८ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यसपालि ६.९९ प्रतिशतमा झरेको छ। बैंक व्यवस्थापनले कर्जा असुली अभियान र ऋणीको भुक्तानी क्षमतामा आएको सुधारले असुलीमा प्रगति भएको उल्लेख गरेको छ। यद्यपि निष्क्रिय कर्जाको तुलनामा कुल कर्जा नोक्सानी व्यवस्थाको अनुपात ८४.५२ प्रतिशतबाट सामान्य घटेर ८२.५४ प्रतिशत कायम भएको छ।
कर्मचारी खर्च ४६.७७ प्रतिशतले बढेर १६ करोड ७८ लाख रुपैयाँ पुगेको छ। कर्मचारी खर्च, अन्य सञ्चालन खर्च र ह्रासकट्टीसहितको कुल सञ्चालन खर्च अघिल्लो वर्षको १८ करोड ४५ लाख रुपैयाँबाट ३४.५० प्रतिशतले बढेर २४ करोड ८१ लाख रुपैयाँ पुगेको छ। यसले आगामी अवधिमा खर्च नियन्त्रणलाई पनि प्राथमिकतामा राख्नुपर्ने देखाउँछ।
व्यवसायको आकारतर्फ गत असार मसान्तको तुलनामा ग्राहक कर्जाको वित्तीय विवरणमा देखाइएको खुद रकम २.२० प्रतिशतले बढेर ४८ अर्ब ९ करोड रुपैयाँभन्दा बढी पुगेको छ। निक्षेप भने सामान्य अर्थात् ०.२५ प्रतिशतले घटेर ५७ अर्ब ३० करोड रुपैयाँ कायम भएको छ। बैंकको कुल सम्पत्ति ६७ अर्ब ६६ करोड रुपैयाँ रहेको छ।
पुँजीगत आधारमा समेत सुधार आएको छ। बैंकको पुँजी पर्याप्तता अनुपात अघिल्लो वर्षको यही अवधिको १२.७४ प्रतिशतबाट बढेर १५.०५ प्रतिशत पुगेको छ। आधार दर ६.७५ प्रतिशतबाट घटेर ५.३५ प्रतिशत भएको छ भने कर्जा–निक्षेप अनुपात ८७.७४ प्रतिशत कायम भएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।