काठमाण्डौ । बाराको फेटा गाउँपालिका–३ मा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका १५ वर्षीय आदित्य पासवानको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ।
कात्तिक १४ गते बिहान गोली लागेका आदित्यलाई करिब एक घण्टापछि वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको आकस्मिक कक्षमा पुर्याइएको थियो। अस्पताल पुर्याउँदा अत्यधिक रक्तस्रावका कारण उनको अवस्था अत्यन्तै गम्भीर रहेको बताइएको छ।
गोलीले पेटभित्रका आन्द्रामा ठूलो क्षति पुर्याएको थियो भने आन्द्राका केही भाग पेटको घाउबाट बाहिर निस्किएका थिए। तत्काल शल्यक्रिया नगरे ज्यान जाने उच्च जोखिम रहेको अवस्थामा अस्पतालको विशेषज्ञ टोलीले आकस्मिक शल्यक्रिया गरेको थियो।
पेडियाट्रिक सर्जरी विभागका कन्सल्टेन्ट डा. विनोद कुमार रायको नेतृत्वमा जनरल सर्जन डा. आदित्य प्रसाद र अर्थोपेडिक सर्जन डा. रविन्स कुमार शाहसहितको टोलीले जटिल शल्यक्रिया सम्पन्न गरेको अस्पतालले जनाएको छ।
शल्यक्रियाका क्रममा क्षतिग्रस्त आन्द्राको भाग हटाउने, आन्द्रा पुनः जोड्ने, आन्द्रामा परेका प्वाल मर्मत गर्ने तथा मल निष्कासनका लागि वैकल्पिक मार्ग बनाउने प्रक्रिया गरिएको थियो। साथै दाहिने ग्लुटियल क्षेत्रमा रहेको गोलीसमेत निकालिएको थियो।
शल्यक्रियापछि आदित्यलाई आईसीयूमा राखेर सघन उपचार गरिएको थियो। अस्पतालका अनुसार उनको रक्तचाप र रक्तसञ्चार कायम राख्न तीन प्रकारका औषधि, भेन्टिलेटरको सहायता, चार युनिट रगत तथा दुई युनिट फ्रेश फ्रोजन प्लाज्मा आवश्यक परेको थियो।
अस्पतालले आदित्यलाई आकस्मिक उपचारदेखि शल्यक्रिया, आईसीयू, औषधि, रक्तसञ्चार, प्रयोगशाला परीक्षणलगायत सम्पूर्ण सेवा निःशुल्क उपलब्ध गराएको जनाएको छ।
थप विशेषज्ञ उपचार आवश्यक देखिएपछि अस्पताल प्रशासनले नेपाल प्रहरी, नेपाली सेना तथा सम्बन्धित निकायसँग समन्वय गरी कात्तिक १५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई काठमाडौं पठाएको थियो।
अहिले आदित्यको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।
नोभेम्बर २ सम्मको स्वास्थ्य जानकारीअनुसार उनको अवस्था सुधारोन्मुख छ। उनलाई भेन्टिलेटरबाट हटाइएको छ, उनी होसमा आएका छन्, आफैं सास फेरिरहेका छन् र मुखबाट खाना खान थालेका छन्।
नेशनल मेडिकल कलेजले यस घटनामा तत्काल विशेषज्ञ उपचार, जटिल शल्यक्रिया, आईसीयू व्यवस्थापन र थप उपचारका लागि स्थानान्तरणसम्मको समन्वय गरिएको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।