काठमाण्डौ । ताइवानको प्रविधि कम्पनी ASUS ले नेपालमा आफ्नो पहिलो एक्सक्लुसिभ ब्रान्ड स्टोर सञ्चालनमा ल्याएको छ। कम्पनीले काठमाडौंको पुतलीसडकस्थित प्रकाश भवनमा स्टोर उद्घाटन गर्दै नयाँ पुस्ताका ROG र TUF Gaming सिरिजका ल्यापटपसमेत नेपाली बजारमा सार्वजनिक गरेको हो।
नेपालमा आफ्नो खुद्रा उपस्थिति विस्तार गर्ने रणनीतिअन्तर्गत सञ्चालनमा ल्याइएको स्टोरमा ASUS का विभिन्न सिरिजका ल्यापटप तथा कम्प्युटर हार्डवेयर उपलब्ध हुनेछन्। ग्राहकले स्टोरबाट Vivobook, Zenbook, ProArt, TUF Gaming तथा Republic of Gamers (ROG) सिरिजका उत्पादन खरिद गर्न सक्नेछन्।
कम्पनीका अनुसार स्टोरमार्फत ग्राहकले ASUS 4A Guarantee अन्तर्गतका विभिन्न सुविधा समेत प्राप्त गर्नेछन्। यसअन्तर्गत उत्पादनको सुनिश्चित गुणस्तर, समर्पित ग्राहक सेवा, अन्तर्राष्ट्रिय वारेन्टी तथा थप मूल्य अभिवृद्धि गर्ने सेवाहरू समावेश छन्।
स्टोर उद्घाटनसँगै ASUS ले नेपाली बजारमा नयाँ गेमिङ ल्यापटपहरू पनि सार्वजनिक गरेको छ। तीमध्ये ROG Zephyrus Duo प्रमुख आकर्षणका रूपमा रहेको छ। Intel Core Ultra 9 386H प्रोसेसर तथा NVIDIA GeForce RTX 5090 Laptop GPU जडित यो डुअल स्क्रिन OLED ल्यापटप गेमिङसँगै कन्टेन्ट निर्माणका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ।
त्यस्तै, उच्च क्षमताको गेमिङ अनुभवका लागि Intel Core Ultra 9 290HX+ प्रोसेसर र NVIDIA GeForce RTX 5090 Laptop GPU सहितको ROG Strix SCAR 18 पनि सार्वजनिक गरिएको छ।
यसैगरी, Intel Core i7-14650HX प्रोसेसर तथा NVIDIA GeForce RTX 5050 Laptop GPU जडित TUF Gaming F16 पनि नेपाली बजारमा भित्र्याइएको छ। कम्पनीले यी उत्पादनले नेपाली गेमर तथा प्रविधिप्रेमीलाई उच्चस्तरीय गेमिङ प्रविधिको अनुभव उपलब्ध गराउने अपेक्षा गरेको छ।
ASUS South Asia का क्षेत्रीय प्रमुख एरिक ओउले नेपाललाई कम्पनीका लागि महत्त्वपूर्ण तथा तीव्र गतिमा विस्तार भइरहेको बजारका रूपमा उल्लेख गरेका छन्।
उनले काठमाडौंमा पहिलो ASUS ब्रान्ड स्टोर सञ्चालनमा आउनु नेपाली उपभोक्तालाई विश्वस्तरीय प्रविधिसँग अझ नजिक पुर्याउने यात्राको महत्त्वपूर्ण उपलब्धि भएको बताए। नयाँ स्टोरमार्फत ग्राहकले उत्पादन प्रत्यक्ष अवलोकन तथा प्रयोग गरी आफ्नो आवश्यकता अनुसार खरिद निर्णय गर्न सक्ने उनको भनाइ छ।
कम्पनीले आगामी दिनमा नेपालभर आफ्नो खुद्रा सञ्जाल थप विस्तार गर्दै नेपाली उपभोक्तासँगको सम्बन्ध अझ सुदृढ बनाउने जनाएको छ।
ASUS को पहिलो एक्सक्लुसिभ स्टोर काठमाडौं महानगरपालिका–२८ पुतलीसडकस्थित प्रकाश भवनमा सञ्चालनमा आएको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।