काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामै नेपालबाट २ करोड २६ लाख ६९ हजार ५७५ लिटर जुस निर्यात भएको छ।
भन्सार विभागका अनुसार साउनदेखि असोजसम्म विभिन्न प्रकारका जुस निर्यातबाट नेपालले २ अर्ब २० करोड ७९ लाख ७६ हजार रुपैयाँ आम्दानी गरेको हो।
नेपालबाट निर्यात हुने जुसको सबैभन्दा ठूलो बजार भारत रहेको छ। केही मात्रामा चीन र जापानमा समेत नेपाली जुस निर्यात भएको छ।
सबैभन्दा धेरै निर्यात हुनेमा मिक्स जुस रहेको छ। तीन महिनामा १ करोड ५७ लाख ५६ हजार ६२४ लिटर मिक्स जुस निर्यात भएको छ। यसको मूल्य १ अर्ब ४३ करोड १५ लाख ७२ हजार रुपैयाँ रहेको छ।
मिक्स जुसमध्ये भारतमा मात्रै १ अर्ब ४२ करोड ८२ लाख ९१ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख ३३ हजार ३८६ लिटर निर्यात भएको छ।
यस्तै जापानमा २३ लाख ४७ हजार रुपैयाँ बराबरको १३ हजार ३८ लिटर र चीनमा ९ लाख ३५ हजार रुपैयाँ बराबरको १० हजार २०० लिटर मिक्स जुस निर्यात भएको छ।
मिक्स जुसपछि सुन्तला र भुइँकटहरको जुस धेरै निर्यात भएको छ।
समीक्षा अवधिमा ३५ करोड ८७ लाख ८ हजार रुपैयाँ बराबरको ३२ लाख ७२ हजार २७५ लिटर सुन्तलाको जुस निर्यात भएको छ।
त्यस्तै २२ करोड १३ लाख २२ हजार रुपैयाँ बराबरको १८ लाख ४३ हजार ३२६ लिटर भुइँकटहरको जुस निर्यात भएको छ। सुन्तला र भुइँकटहरका जुस शतप्रतिशत भारतमा निर्यात भएका हुन्।
यस अवधिमा १६ करोड ८५ लाख २२ हजार रुपैयाँ बराबरको १४ लाख ४८ हजार ९०४ लिटर स्याउको जुस पनि भारत पठाइएको छ।
यस्तै १ करोड ५२ लाख ७४ हजार रुपैयाँको ग्रेपफ्रुट जुस र १ करोड २५ लाख ७८ हजार रुपैयाँको गोलभेँडाको जुस समेत भारत निर्यात भएको भन्सार विभागको तथ्यांक छ।
तथ्यांकले नेपाली जुस उद्योगको निर्यातमा भारतमाथिको निर्भरता निकै उच्च रहेको देखाए पनि चीन र जापानमा समेत बजार विस्तारको संकेत देखिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।