काठमाण्डौ । भारतीय बिजनेश सेक्टरको ठूलो नामको रुपमा रहेका स्वर्गीय केके मोदी परिवारमा ११ हजार करोड भारु सम्पत्तिको पारिवारिक विवाद निरन्तर बढीरहेको छ । अहिले यो विवादले नयाँ मोड लिएको छ । इण्डियन प्रिमियर लिग(आईपीएल)का पूर्व अध्यक्ष ललित मोदीका भाई तथा गडफ्रे फिलिप्सका कार्यकारी निर्देशक समीर मोदीले आफ्नी आमा बीना मोदीले कुटपिट गराएको आरोप लगाए पछि यो विवादले नयाँ मोड लिएको हो ।
समीर मोदीले गत शुक्रबार दिल्ली प्रहरीमा दर्ता गरेको उजुरीमा आमा बीना मोदीले परिवारमा जारी सम्पत्ति विवादमा लाभ उठानका लागि आफुमाथि हमला गराएको आरोप लगाएका छन् । भारतीय मिडिया बिजनेश टुडेमा प्रकाशित रिपोर्टमा समीर मोदीले आफ्नी आमा, उनका निजी सुरक्षा अधिकारी(पीएसओ) र गडफ्रे फिलिप्सका अन्य डाइरेक्टरहरुमाथि उनलाई गम्भिर चोट पुर्याएको आरोप लगाएका छन् । बीना मोदी गडफ्रे फिलिप्सको डाइरेक्टर पनि हुन् ।
चुरोट र चकलेट बनाउने कम्पनी गडफ्रे फिलिप्सको बोर्ड सदस्य हुनुका साथै समीर मोदी कलरबार कस्मेटीक,२४÷७ रिटेल तथा डाइरेक्ट सेलिङ प्लटफर्म मोदीकेयरका पनि प्रम्ुख हुन् । आमा बीना मोदीले कम्पनीमा उनको स्वामित्व खरिद गर्ने प्रस्ताव पेश गरेसँगै आफुमाथि आक्रमण भएको समीर मोदीले बताएका छन् ।
उनले आफूमाथि कार्यालयमै आक्रमण हुन्छ भनेर कहिल्यै पनि नसोचेको तथा सेयरसँग सम्बन्धित विवाद अदालतमा विचाराधीन रहेकाले अब भने आफ्नो स्वामित्व बिक्री नगर्ने अडान लिएका छन् । उनले आफूलाई बोर्डबाट हटाउने प्रयत्न भईरहेको र यो पूरा नहुने उनले बताएका छन् ।
उनले आफूलाई मिटिङमा जान रोकिएको र भित्र प्रवेश गर्न खोज्दा कुटपिट गरिएको बताएका छन् । यसक्रममा आफ्नो औला पनि भाचिएको उनले प्रहरीमा दिएको उजुरीमा उल्लेख गरेका छन् ।
समीर मोदीले पारिवारिक सम्पत्तिको व्यवस्थापनलाई लिएर बीना मोदीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । यो पारिवारिक सम्पत्तिमा गडफ्रे फिलिप्सको लगभग ५० प्रतिशत सेयर स्वामित्व छ र जसको मूल्य ५ हजार ५ सय करोड भारु भन्दा बढी हुन्छ । -एजेन्सी