काठमाण्डौ । नेपाल स्टक एक्चसेञ्ज (नेप्से)मा सवा १ खर्ब रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनासम्मको तथ्याङ्कअनुसार विभिन्न कम्पनीको साधारण सेयर, हकप्रद र बोनस सेयर गरी १ खर्ब २५ अर्ब ४४ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएको हो ।
जसमा ८४ अर्ब ९९ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ),. २० अर्ब ४० करोड रुपैयाँ बराबरको बोनस सेयर, २० अर्ब १ करोड रुपैयाँ बराबरको हकप्रद शेयर र ३ करोड बराबरको एफपीओ गरी कुल १ खर्ब २५ अर्ब रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएको हो । चालु आवको वैशाखसम्म नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कुल २४ अर्ब ७८ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । जसमा ९ अर्ब ८० करोड रुपैयाँ बराबरको साधारण शेयर, ६ अर्ब २ करोड रुपैयाँ बराबरको डिबेन्चर, ५ अर्ब ४६ करोड रुपैयाँ बराबरको हकप्रद शेयर र ३ अर्ब ५० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड रहेको छ ।